विश्वमा कोरोना संक्रमणको दर फेरि बढेको छ ।
पछिल्लो समयमा अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ भने युरोपेली देशहरूमा समेत लकडाउनलगायतका उपायहरू प्रभावहीन बनेका छन् ।
अहिलेसम्म संसारभरि कोरोनाबाट संक्रमित हुनेको संख्या चार करोड ९६ लाख पुगेको छ । यसमध्ये तीन करोड ५२ लाख ३४ हजार एक सय २० जना बिरामी निको भएका छन् । हालसम्म कोरोनाबाट विश्वमा १२ लाख ४२ हजारभन्दा बढीको निधन भएको छ ।
अमेरिकामा कोरोना संक्रमणले भयावह रूप लिएको छ । निर्वाचनको मुख्य मुद्दासमेत रहेको कोरोना संक्रमणबाट शुक्रबार मात्रै एक लाख २८ हजारजना संक्रमित भएका छन् । अहिलेसम्म दुई लाख ३५ हजारको निधन भइसकेको छ ।
उता युरोपको फ्रान्समा शुक्रबार एकैदिन ६० हजार चार सय ८६ जना संक्रमित भएका छन् । फ्रान्सले गत साता मात्रै कतिपय राज्यमा लकडाउनको घोषणा गरेको थियो ।
अमेरिकी र युरोपको केही देशका तथ्यांक निकै डरलाग्दो रहेको भन्दै स्वास्थ्य विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले युरोपका कतिपय देशमा खतरनाक स्तरमा संक्रमण पुगेको जनाएको छ ।
संगठनका युरोप प्रमुख हेन्स क्लुजले युरोपमा कोरोना विस्लाेट भएको टिप्पणी गरेका छन् । ‘हामी कोरोना विस्फाेट देखिरहेका छौँ,’ उनले भने, ‘दुई दिनमा १० लाख मानिस संक्रमित हुनु सामान्य होइन ।’
इटालीमा शुक्रबार ३८ हजारजना संक्रमित भएका छन् भने सरकारले रात्रिकालीन निषेधाज्ञा जारी गरेको छ । यसको पालना नगरिएमा जेलसमेत जान सक्ने कानुन बनाइएको छ । तर, इटालीमा हरेक दिन संक्रमितको संख्या भने बढेको मिडिया एजेन्सीहरूले उल्लेख गरेका छन् । जर्मनी, बेल्जियमलगायतका देशमा समेत प्रतिदिन ३० हजारभन्दा बढी संक्रमणका घटना देखिएका छन् ।