फ्रान्समा एकैदिन ६० हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टायता मात्र कम्तीमा पनि ६० हजार चार सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयले यो संख्या यहाँ कोभिड– १९ महामारी सुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा धेरै हो । यहाँको स्वास्थ्य अधिकारीहरूले फ्रान्समा र अझ बढी पेरिसमा कोभिड संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन् ।
अधिकारीहरूका अनुसार यस संक्रमणबाट फ्रान्समा बिहीबार ५८ हजारजना भन्दा बढी व्यक्ति संक्रमित भएका थिए भने शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ६० हजार जनाभन्दा बढी देखिएका हुन् ।
यो सँगै फ्रान्समा शुक्रबारसम्ममा १६ लाख ६१ हजार आठ सय ५३ जना नागरिक संक्रमित हुन पुगेका छन् । यहाँ पछिल्लो २४ घन्टामा आठ सय २८ जनाको निधन भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ३९ हजार नाघेको फ्रान्सको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३९ हजार आठ सय ६५ जना पुगेको छ । यहाँ गत साता मात्र २० हजारभन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् । अधिकारीहरूले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको निकै द्रुतगतिमा बढ्दै गएकोले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
कोरोनाका संक्रमित बढ्दै गएपछि धेरै स्थानमा प्रतिबन्धहरू पनि लगाइएको छ । प्रतिबन्धको सर्वसाधारणले विरोध पनि गरिरहेका छन् । यसलाई यहाँका अधिकारीहरूले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका बताइएको छ । जसका कारण यहाँ स्वास्थ्य सतर्कतालाई अझ बढाइएको छ ।