बाँकेमा एकैदिन चार कोरोना संक्रमितको मृत्यु

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका– ८ शमशेरगन्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका– १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका– १० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका– ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार श्वासप्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका शमशेरगन्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रबार साँझ ५:२० बजे मृत्यु भएको हो ।

त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार साँझ ६:४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २:४५ बजे र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो ३:२० बजे मृत्यु भएको छ । 

संक्रमित बिरामीलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत अवस्थामा सुधार नआएपछि कोभिड आइसियूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए ।  योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारको क्रममा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने बाँकेका ३५ संक्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ । रासस

सुझावित समाचार