वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुने आशंका, तीन बैंकको मात्रै एक अर्ब ६९ करोड ब्याज उठ्न बाँकी

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको वितरणयोग्य मुनाफा नकारात्मक हुने सम्भावना देखिएको छ । ‘वित्तीय प्रणालीमा कोभिड–१९ को प्रभाव उच्च देखिँदै छ ।

समयमा ब्याज नउठ्दा यसपटक धेरै बैंकहरूको वितरणयोग्य नाफा नकारात्मक हुने सम्भावना छ,’ नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । बैंकहरू नउठेको ब्याज र कर्जाका प्रावधानहरू मिलाउने क्रममा रहेको उनले बताए । त्यही भएर यसपटक त्रैमासिक विवरण प्रकाशनमा समेत ढिलाइ भइरहेको छ । 

हालसम्म अवस्था नबिग्रिएका वाणिज्य बैंकले भने वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यसरी वित्तीय विवरण प्रकाशित गर्नेमा सिटिजन्स बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंक मात्र छन् । विवरणअनुसार नेपाल बैंकको नाफा ५ दशमलव ३९ प्रतिशतले घटेर ५५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सिटिजन्स बैंकको भने ४७ प्रतिशतले नाफा बढेर ५१ करोड ५५ लाख पुगेको छ । प्राइमको नाफा ५४ प्रतिशतले बढेर एक अर्ब एक करोड पुगेको हो । 

तर, यी तीन बैंकको मात्रै नउठेको ब्याज रकम एक अर्ब ६९ करोड रुपैयाँ हाराहारी छ । सिटिजन्स बैंकले ब्याज नउठेपछि यस्तो रकमको ६३ प्रतिशतबराबर ३४ करोड १७ लाख रुपैयाँ नियामकीय सञ्चितिमा राखेको छ । यसको अर्थ बैंकले ५४ करोड २४ लाख रुपैयाँ ब्याज उठाउन सकेको छैन । नेपाल बैंकले पनि २३ करोड रुपैयाँ नियामकीय सञ्चितिमा राखेको छ । यसको अर्थ यस बैंकले पनि ७३ करोड ८४ लाख रुपैयाँ ब्याज उठाउन सकेको छैन । त्यस्तै, प्राइमले ४८ करोड ४८ लाख राखेकोले बैंकले ७७ करोड ४४ लाख व्याज उठाउन नसकेको देखिन्छ । 

नेपाल बैंक र प्राइम बैंकका सेयर लगानीकर्तालाई वितरणयोग्य नाफा गत वर्षको यही अवधिमा बढे पनि सिटिजन्सको घटेको छ । नेपाल बैंकको गत वर्षको पहिलो त्रैमासमा ६ करोड रुपैयाँ र प्राइमको २२ करोड वितरणयोग्य पुँजी रहेको थियो । चालू आवको यो अवधिमा यी बैंकको यो रकम क्रमशः १९ करोड र ३३ करोड रुपैयाँ छ । सिटिजन्सको २१ करोड रहेकोमा घटेर ९२ लाख मात्रै छ । 

कर्जाको ब्याज उठ्ती राम्रो रहेका बैंकहरूले वित्तीय विवरण प्रकाशन गरेको देखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । उनले भने, ‘हामीले कुरा गरेका साथीहरू सबैले यसपटक कर्जा उठाउन गाह्रो भइरहेको बताइरहनुभएको छ ।’ 

राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको तथ्यांकअनुसार पनि ३२ खर्ब ८७ अर्ब लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूले भदौसम्ममा ७९ अर्ब १४ करोड रुपैयाँ कर्जा नोक्सान व्यवस्थामा राखेका थिए । यसमध्ये २३ वाणिज्य बैंकले ६६ अर्ब ९५ करोड रुपैयाँ नोक्सान व्यवस्थामा रकम छुट्याएका हुन् । 

बैंक तथा वित्तीय संस्थाले उठ्न सक्ने सम्भावना भए पनि उठिनसकेको ब्याज रकम (इन्टे«स्ट सस्पेन्स एकाउन्टमा) करिब ३१ अर्ब ४७ करोड रुपैयाँबराबर रहेको थियो । विगतदेखि नै लगानी भएर उठ्न नसकेका कर्जाका ब्याजहरूसमेत यस शीर्षकमा राखिने गरिन्छ । वाणिज्य बैंकहरूको मात्रै उठ्न सक्ने सम्भावना भए पनि उठिनसकेको ब्याज रकम १९ अर्ब रुपैयाँबराबर छ । 

वितीय विवरण प्रकाशनका लागि १५ दिन थप
राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । तर, यसपटक वाणिज्य बैंकहरूमा दुईले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा उठाउन र प्रावधान रकमको हिसाब मिलाउन थप १५ दिनको समय दिएको बैंकरहरूले बताएका छन् । 

चैतदेखि गत असारसम्म नउठेको कर्जा कोभिडको प्रभाव हेरेर न्यून प्रभावितले ०७७ मसान्तसम्म, मध्यम प्रभावित कर्जाले ०७७ चैत र अतिप्रभावित कर्जाले ०७८ असार मसान्तसम्म किस्ता र ब्याज भुक्तानी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ । तर, लकडाउन खुकुलो भएको र सधैँ लचिलो नीतिगत व्यवस्था अपनाउन नसकिने भएकाले असारपछिका लागि यस्तो सहुलियत दिइएको छैन । 

भाका ननाघेका वा एक महिनासम्म भाका नाघेका कर्जा तथा सापट असल वर्गमा रहन्छन् भने यसका लागि १ प्रतिशत प्रावधान राख्नुपर्छ । एकदेखि तीन महिनासम्म भाका नाघेका कर्जा सूक्ष्म निगरानीमा रहन्छन्, यसका लागि ५ प्रतिशत प्रावधान राख्नुपर्छ । तीन महिनादेखि ६ मनिासम्म भाका नाघेका कर्जालाई कमसल वर्गमा र यसका लागि २५ प्रतिशत प्रावधान राख्नुपर्छ । त्यस्तै, ६ महिनादेखि एक वर्षसम्म भाका नाघेका कर्जालाई शंकास्पद वर्गमा राखेर ५० प्रतिशत प्रावधान राख्नुपर्छ । एक वर्ष भाका नाघेका कर्जा खराब वर्गमा रहन्छन्, जसका लागि कर्जा दिइएको रकमको शतप्रतिशत प्रावधान राख्नुपर्ने व्यवस्था छ । 

सुझावित समाचार