अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी बन्न आवश्यक दुई सय ७० इलेक्टोरल मततर्फ अग्रसर छन् । अघिल्ला निर्वाचनहरूमा ‘निर्णायक’ मानिएको मिसिगनजस्तो राज्यमा पनि विजयी भएपछि बाइडेनले ह्वाइटहाउसमा प्रवेश पाउने धेरैको अड्कल छ । यो राज्यमा साेचेजस्तो इलेक्टोरल मत नपाउँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको र हुलाकबाट आएको मतपत्र मान्य नहुने भन्दै अदालत जाने धम्की दिइरहेका छन् ।
सिएनएनको पछिल्लो तथ्यांकअनुसार बाइडेनले दुई सय ५३ तथा ट्रम्पले दुई सय १३ इलेक्टोरल मत पाएका छन् । इलेक्टोरल मतमा २९ अन्तर भए पनि दुवैले जितको दाबी कायमै राखेका छन् । मिसिगन र जर्जियामा पराजित भएपछि ट्रम्पले भोट काउन्टिङ रोक्नुपर्ने माग राखेका छन् । ट्रम्प यसको समाधान निकाल्न दुवै राज्यका अदालतमा पुगेका छन् । अन्य राज्यमा मतगणना जारी नै छ । निर्वाचनअघि फ्लोरिडा र पेन्सिलभेनियामा ट्रम्पले यसपटकको राष्ट्रपति निर्वाचन इलोक्टोरल मतबाट नभएर सर्वोच्च अदालतबाट हुने बताएका थिए । उनले त्यसवेला भनेका थिए, ‘यसपटक निर्वाचनमा व्यापक धाँधली हुने सम्भावना छ, यसकारण अदालतबाट आउने नतिजा मान्य हुनेछ ।’ अर्को गम्भीर प्रश्न के उठेको छ भने के सर्वोच्च अदालतले राष्ट्रपतिको छिनोफानो गर्नेछ ? सबैमा यो जिज्ञासाले घर गरेको छ ।
ट्रम्प र रिपब्लिकन पार्टीले अहिले दुई राज्यको नतिजा चित्तबुझ्दो नभएको भनी अदालतमा उजुरी दर्ता गरेका छन् । जर्जियामा ५३ फर्जी मतसमेत भेटिएको छ । यसले पनि ट्रम्पको दाबी मजुबत भएको मानिन्छ । ट्रम्पले जर्जियामा जस्तै अन्य राज्यमा यस्तो हुन सक्ने बताएका छन् । अमेरिकी कानुनअनुसार जुन–जुन राज्यमा मुद्दा पर्छ त्यहीको अदालतले यसको निर्णय गर्छ । त्यहाँ समाधान नभए यो मुद्दा सर्वोच्च अदालतमा पुग्छ । यदि निर्वाचन पद्धतिबाट राष्ट्रपतिको छिनोफानो भएन भने सर्वोच्च अदाललते यसको निर्णय गर्न सक्छ । यो केही सातासम्म चल्न सक्छ ।
ट्रम्पको विश्वास सर्वोच्च अदालतमा
ट्रम्पले सर्वोच्च अदालतमाथि विश्वास गर्ने धेरै कारण छन् । सर्वोच्च अदालतमा रहेका नौ न्यायाधीश धेरैजसो रिपब्लिकन पक्षकै छन् । जसमध्ये ट्रम्पकै कार्यकालमा तीनजना न्यायाधीश नियुक्त भएका थिए । अझ यसमा निर्वाचनको केही दिनअघि मात्र ट्रम्पले न्यायाधीश एमी कोनेलाई नियुक्त गरेका छन् । समग्रमा ६ न्यायाधीश रिपब्लिकनकै समर्थनमा छन् । ट्रम्पको चारवर्षे कार्यकालमा धेरै मुद्दाको फैसला उनकै पक्षमा न्यायाधीशहरूले गरेको उदाहरण छन् । यसै कारण पनि ट्रम्पले बारम्बार सर्वोच्च अदालत जाने धम्की दिइरहेका हुन् ।
समस्या कहाँ ?
अघिल्लो राष्ट्रपति निर्वाचनमा पनि धाँधलीका कुराहरू नआएका होइनन् । तर, यसपटकको जस्तो गम्भीर रूपमा थिएनन् । यसपटक निर्वाचनमा व्यापक धाँधली भएको आरोप लागिरहेको नै हुलाक र इमेलबाट पठाएको मतमा हो । कोरोना भाइरसका कारण सबै मतदाता निर्वाचन स्थलसम्म जान सकेनन् । त्यस्ता नागरिकहरूको हकमा हुलाक वा इमेलबाट पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ । निर्वाचन आयोगको नियमअनुसार नै मतदाताहरूले आफ्नो अधिकार प्रयोग गरे । तर, सोचेभन्दा पनि बढी नागरिक हुलाक र इमेलबाट निर्वाचनमा सहभागी भए । ट्रम्पले यस्तो किसिमको निर्वाचन प्रणालीमा व्यापक चलखेल हुन सक्ने बताइरहेका थिए ।
सन् २००० र २०१६ को निर्वाचनमा पनि धाँधली भएको आरोप लागेको थियो । निर्वाचनको नतिजा चित्त नबुझेको पार्टीले मतगणना रोक्नुपर्ने भनी अदालतमा रिट दायर गरेको थियो । यी दुईवटा निर्वाचनमा डेमोक्रेटिक र रिपब्लिकनले एक–आपसमा ५० भन्दा बढी मुद्दा दायर गरेका थिए । यदि पेन्सिलभेनिया र जर्जियाको नतिजा स्पष्ट नभए सर्वोच्च अदालतले यसमा हस्तक्षेप गर्न सक्छ ।
बाइडेनले ओबामाको रेकर्ड तोडे
विश्वकै शक्तिशाली राष्ट्रका राष्ट्रपति को बन्लान् भनेर अहिले विश्व नै प्रतीक्षामा छ । बाइडेनको अवस्था ट्रम्पको भन्दा बलियो छ । न्युयोर्क टाइम्सका अनुसार बाइडेनले यसपटक अत्यधिक मत पाएका छन् । उनले १२ वर्षअघिको रेकर्ड तोडेका छन् । सन् २००८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार पाँच सय १६ मत पाएका थिए । यसपटक बाइडेनले सात करोड १० लाख पपुलर मत पाएका छन् । मत गणना भइरहँदा बाइडेनले दोस्रोपटक आफ्नो जितको दाबी गरेका छन् । ‘हामीलाई पूरा विश्वास छ, डेमोक्रयाटले आवश्यक दुई सय ७० इलेक्टोरल मत पाउनेछ, यो छिटै पूरा हुनेछ, यद्यपि अहिले नै जितको दाबी गर्न मिल्दैन, तर अन्तिम मतगणना समाप्त हुँदा जित हाम्रै हुने छ,’ उनले भने ।
समर्थकहरू हुलदंगामा उत्रिए
निर्वाचनको दृष्टिकोणले एरिजोना पनि मुख्य राज्य पर्छ । यहाँ मतगणना भइरहँदा ट्रम्प समर्थकले विरोध जनाएका छन् । उनीहरूले मत गणना भइरहेको मारिकोपा काउन्टी इलेक्सन विभागभित्र प्रवेश गर्ने प्रयास गरेको बिबिसीले जनाएको छ । ट्रम्प समर्थकहरूले इमेलबाट प्राप्त मतगणना राम्रोसँग नभएको आरोप लगाएका छन् । स्थिति सामान्य पार्न इलेक्सन विभागले सुरक्षाकर्मीको सहयोग लिएको थियो । अहिलेसम्म ८२ प्रतिशत मतगणना भइसकेको छ ।
यसैगरी पोर्टल्यान्ड र ओरेगन राज्यमा बाइडेन समर्थकहरूले विरोध जनाएका छन् । ती समर्थकहरूले सहरका पसल तोडफोड गर्नुका साथै सडक जाम पारेका छन् । अहिलेसम्म मतगणना बिथोल्ने दुई सय प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी न्युयोर्क, फिलाडेल्फिया तथा सिकागोमा ट्रम्प समर्थक उग्र देखिएका छन् ।
एसियन बाइडेनको पक्षमा
नेसनल एक्जिट पोलअनुसार यसपटक एसियन–अमेरिकन नागरिकाले बाइडेनको पक्षमा मतदान गरेका छन् । एक्जिट पोलअनुसार ६४ प्रतिशत एसियन–अमेरिकनले बाइडेनको पक्षमा भोटिङ गरे । त्यही नै ट्रम्पले एसियनबाट ३० प्रतिशत मात्र मत पाए । स्विङ स्टेटमा पाँच प्रतिशत मत बाइडेनको पक्षमा गएको बिबिसीले उल्लेख गरेको छ ।