हवाई क्षेत्रका लागि सन् २०२१ अझै खराब वर्ष हुने आयटाको प्रक्षेपण

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोनाका कारण नेपालको हवाई उड्डयन क्षेत्रले मात्रै अर्बौँ रुपैयाँ गुमाएको अनुमान गरिएको छ । तर, आउँदो वर्ष सन् २०२१ विश्वको उड्डयन क्षेत्रका लागि अझै खराब हुने प्रक्षेपण गरिएको छ ।  अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)का अनुसार सन् २०२१ मा विश्व हवाई उड्डयन उद्योगको आम्दानीमा ४६ प्रतिशतले गिरावट आउनेछ ।

२०२० मा अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतले अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा गिरावट आएको आयटाको अनुमान छ । नेपालको हवाई क्षेत्रले पनि सात महिनाको अवधिमा ३० अर्बभन्दा बढी गुमाएको अनुमान गरिएको छ । यता पर्यटन र हवाई क्षेत्रले करिब ७० अर्बभन्दा बढी गुमाएको अनुमान गरिएको छ । 

संकटका बीचमा सरकारले मंसिरदेखि सबै विदेशी पर्यटकलाई नेपाल आउन दिने गरी गतिविधि खुलाउने तयारी गरेको छ । गत कात्तिकदेखि आंशिक रूपमा विदेशी पर्यटकलाई नेपाल आउन दिइएको छ । सबैको गतिविधि खुलाएर जान सकेमा पर्यटन र हवाई क्षेत्रको संकट टर्दै जाने अनुमान रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी बताए । ‘सबै मिलेर संकटको सामना गरेर गतिविधि बढाउनुको विकल्प छैन,’ रेग्मीले भने । 

आयटाका अनुसार सन् २०२१ मा हवाई सेवा कम्पनीहरूको आर्थिक संकट झनै बढ्नेछ । आयटाले भनेको छ, ‘हवाई क्षेत्रका कर्मचारीले रोजगारी गुमाउनेछन् भने कोरोनाका कारण विभिन्न मुलुकमा पर्यटन क्षेत्र बन्द हुनेछ ।’ 

कोरोनाको असर लामो समय रहँदा पर्यटकीय गतिविधि प्रभावित हुने र उड्डयन क्षेत्र प्रभावित हुने आयटाले प्रक्षेपण गरेको हो । यतिवेला संसारभरका विमान कम्पनीहरूले उडान कटौती गरिरहेका छन् । घटाएका कतिपय गन्तव्यमा उडान नै बन्दको अवस्थामा छन् । अझ सन् २०२० को चौथो त्रैमासिक निकै कष्टकर रहेको आयटाले जनाएको छ । सन् २०२१ को मध्यतिरबाट भने केही समस्याहरू समाधान हुने अनुमान गरिएको छ । आयटाले उड्डयन क्षेत्रमा सेवाशुल्क नबढाउनका लागि विमानस्थल र एयर ट्राफिक कन्ट्रोललाई अनुरोध समेत गरेको छ । 

संगठनले हवाई इन्धन शुल्क नबढाउनका लागि निर्देशनसमेत दिएको छ । नेपालमा पनि हवाई कम्पनीहरूले तेलमा नाफा कम लिन आग्रह गर्दै आएका छन् । नेपाल वायुसेवा निगमले हवाई इन्धनमा छुट दिन पत्र काटेरै आग्रह गरिसकेको छ । कोरोनाका कारण उड्डयन क्षेत्रमा १३ लाख रोजगारी जोखिममा पर्न सक्ने देखिएको समेत आयटाले अनुमान गरेको छ । 

नेपाल वायुसेवा निगमले सात महिनायता ७ अर्बभन्दा बढी गुमाएको अनुमान गरेको छ भने नागरिक उड्डयन प्राधिकरणले पनि ९ अर्ब आम्दानी गुम्ने प्रक्षेपण गरिसकेको छ । अन्य निजी वायुसेवा कम्पनीहरूले समेत अनुमान गरेको छ । 

सुझावित समाचार