विश्वकै दोस्रो अग्लो बन्जी

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

साहसिक गतिविधिमा रुचि राख्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर पर्वतको कुस्मा र बाग्लुङको बलेवाको बीचमा पर्ने कालिगण्डकी नदीमाथिको झोलुंगे पुलमा मनोरञ्जनात्मक खेल बन्जी र स्विङ सञ्चालनमा 

उत्तरतर्फ फर्किंदा देखिने मुस्कुराइरहेको गगनचुम्बी हिमाल । तलपट्टि कहालीलाग्दो खोँचमा बगिरहेको कालिगण्डकी नदी । हिमाल र नदीबाट आइरहेको सिरसिर बतासको चिसो स्पर्श । वरिपरि हरिया डाँडा, सुन्दर कुस्मा बजार र तारेभीर । पर्वतको कुस्मा र बाग्लुङको बलेवा जोड्ने विश्वकै अग्लो झोलुंगे पुलमा खुट्टा राख्नेबित्तिकै ज्यान सिरिंग गर्न थालिहाल्छ । कालिगण्डकी नदीबाट २२८ मिटर उचाइमा रहेको सोही पुलमा १५ कात्तिकदेखि साहसिक मनोरञ्जनात्मक खेल बन्जी र स्विङ सञ्चालनमा आएको छ, जहाँबाट जम्प हानेर आनन्द लिन स्वदेशी तथा विदेशी एडभेन्चर पारखीहरू प्रतीक्षामा थिए ।

द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीका अनुसार कालिगण्डकीको गहिरो खोँचमा सञ्चालनमा ल्याइएको स्विङ विश्वकै अग्लो र बन्जी विश्वकै दोस्रो अग्लो हो । विश्वकै सबैभन्दा अग्लो बन्जी मकाउमा छ, जुन मानवनिर्मित भवन मकाउ टावरबाट गराइन्छ । बहुप्रतीक्षित बन्जीजम्प सुरु भएको पहिलो दिन नै स्वदेशी एडभेन्चर पारखीको उत्साहजनक सहभागिता रह्यो । प्राकृतिक छटाले भरिपूर्ण कुस्मामा पुलबाट जम्प गर्दा मात्र होइन कि डोरीमा झुन्डिँदा पनि हिमाल देखिन्छ । तलपट्टि सुसाइरहेको विशाल नदीले बन्जी र स्विङ गर्दा बेग्लै आनन्द दिनेछ । कम्पनीले साहसिक खेलमा रमाउन आउने पर्यटक बस्नका लागि लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

साहसिक गतिविधिमा रुचि राख्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर बन्जी सुरु गरेको सञ्चालक कार्कीले बताए । यहाँ बन्जी, स्विङ, स्काई साइक्लिङ र गुलेली पिङ सञ्चालनमा आएको छ । गुलेली पिङ पहिल्यै सञ्चालनमा आएर लोकप्रिय पनि भइसकेको छ । स्काई साइक्लिङ सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीले जनाएको छ । यसलाई साहसिक मनोरञ्जनात्मक खेलहरूको सुन्दर प्याकेज भन्दा फरक नपर्ला । नेपालमा यसअघि नै सिन्धुपाल्चोकको भोटेकोसी र पोखरामा बन्जी सञ्चालनमा आइसकेका छन् । भोटेकोसी बन्जी १६५ मिटर र पोखराको बन्जी ७० मिटर उचाइका हुन् । भोटेकोसीको बन्जीभन्दा कालिगण्डकी बन्जी करिब ६५ मिटर अग्लो छ ।

राजु कार्की, अध्यक्ष 
बन्जी सञ्चालक कम्पनी द क्लिफ प्रालि

मुस्कुराइरहेका हिमाल, हरिया डाँडाकाँडा, सुसाइरहेको नदीलगायत यस्तो सुन्दर दृश्यावलोकन गर्दै जम्प गर्न पाइने सम्भवतः विश्वकै पहिलो बन्जी होला ।

कार्कीका अनुसार कालिगण्डकी खोँचमाथि पर्वत र बाग्लुङलाई जोड्ने गरी पुलको निर्माण ०७३ देखि सुरु भएको हो । बन्जी र स्विङ गर्न चाहिने आधारभूत मापदण्ड पूरा गरेर पुल निर्माण गरिएको छ । कालिगण्डकीमाथि ५२५ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको छ । नदीको ठीकमाथि बीचको भागमा बन्जी र स्विङको जम्प गर्न मिल्ने गरी ठाउँ बनाइएको छ । विश्वकै अग्लो बन्जी मकाउको ७६४ फिट उचाइको छ भने दोस्रो अग्लो स्विट्जरल्यान्डको भरजस्का बाँधमाथि बनाइएको बन्जी ७२० फिट उचाइमा थियो । द क्लिफ प्रालिले ७४८ फिट उचाइको बन्जी बनाएसँगै स्विट्रल्यान्डलाई पछि पार्दै विश्वकै दोस्रो अग्लो बन्जीका रूपमा आफूलाई दर्ज गरेको कार्कीले जानकारी गराए । उनका अनुसार यहाँको स्विङ विश्वकै अग्लो हो । 

कम्पनीले बन्जी र स्विङ दुवैको शुल्क सात हजार रुपैयाँ तोकेको छ । पोखरादेखि कुस्माको दुईतर्फी गाडीको सुविधासहित बन्जी र स्विङको प्याकेज लिँदा आठ हजार ४५० रुपैयाँ पर्नेछ । टेन्डम (जोडी) स्विङ गरेमा १२ हजार तिर्नुपर्ने बताइएको छ । सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै बन्जी, स्विङ, स्काई साइक्लिङ गर्न पाइने हुँदा विदेशी पर्यटक पनि लोभिने कम्पनीको विश्वास छ । ‘मुस्कुराइरहेका हिमाल, हरिया डाँडाकाँडा, सुसाइरहेको नदीलगायत यति सुन्दर दृश्यावलोकन गर्दै जम्प गर्न पाइने सम्भवतः विश्वकै पहिलो बन्जी होला,’ अध्यक्ष कार्की भन्छन् ।

गुलेली शैलीको पिङ
यो पिङ पहिल्यै चर्चामा आइसकेको छ । यो पिङमा चर्चित राजनीतिज्ञ, उद्यमी, कलाकारलगायत पुगिसकेका छन् । फेसबुक, टिकटक, इन्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा पनि यो पिङको चर्चा छ । बन्जीका लागि निर्माण गरिएको पुलको उचाइ २२८ मिटरको छ । यो पिङ पुलभन्दा पनि अझमाथि २४८ मिटर उचाइमा छ । जमिनबाट १२ मिटर अग्लो पिङ मुलुककै नमुना पिङ भएको बताइन्छ । कम्पनीका अनुसार पिङ गुलेली शैलीमा निर्माण गरिएको छ । अरू पिङमा अरूले हल्लाइदिने वा आफैँ मच्चाएर खेल्नुपर्ने हुन्छ, तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि मेसिनले तानेर छाडिदिन्छ । पिङ मच्चिएर खोँचमाथि पुग्दा ‘थ्रिल’ महसुस हुन्छ । रकक्लाइम्बिङ, क्यानोनिङलगायत साहसिक खेलमा प्रयोग गरिने अन्तर्राष्ट्रिय गुणस्तरको डोरीबाट दक्ष प्राविधिकले डिजाइन गरी पिङ निर्माण गरिएको सञ्चालक कार्कीको दाबी छ । यो पिङ खेल्नका लागि प्रतिव्यक्ति २५० रुपैयाँ लाग्ने बताइएको छ ।

स्काई साइक्लिङ
स्काई साइक्लिङ केही महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यो स्काई साइक्लिङ पनि कालिगण्डकी खोँचको २२८ मिटर उचाइमा हुने छ । विश्वकै अग्लो उचाइमा रहेको साइक्लिङको लम्बाइ तीन सय मिटर छ । कार्कीले भने, ‘दुईतर्फी तीन सय मिटर लम्बाइ रहेको रुटमा एकपटकमा दुईजनाले साइक्लिङ गर्न सक्छन् ।’

आँखैअगाडि सेता हिमाल र हरिया डाँडाकाँडा हेर्दै गहिरो खोँचमाथि साइक्लिङ गर्नुको मज्जा बेग्लै हुनेछ । स्काई साइक्लिङ पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाइएको कम्पनीको दाबी छ । साइक्लिङ गर्न आवश्यक साइकल र सुरक्षा उपकरण कम्पनीले आफैँ दिनेछ । स्काई साइक्लिङमा साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैँ फिक्स ह्यान्डल भएको साइकललाई रोपमा कुदाइने उनले जानकारी दिए । स्काई साइक्लिङ पनि नेपालको साहसिक पर्यटनको बिल्कुल नयाँ प्रडक्ट भएको कम्पनीको भनाइ छ ।

लक्जरी रिसोर्ट 
कम्पनीले बाग्लुङको बलेवामा ‘द क्लिफ रिसोर्ट’ सञ्चालनमा ल्याएको छ । २१ वटा सफारी टेन्ट भएको रिसोर्टमा ७० जना अट्ने गरी व्यवस्था मिलाइएको छ । रिसोर्ट २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । सफारी टेन्ट प्रयोग गरिएको रिसोर्टमा स्ट्यान्डर्ड र डिलक्स रुमहरू रहेका छन् । 

यो परियोजना निर्माणमा २८ करोडभन्दा बढी लगानी पुगिसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । उनले भने, ‘सम्पूर्ण परियोजना सम्पन्न गर्न २० करोड लगानी हुने अनुमान गरिए पनि लकडाउनलगायत विविध कारणले निर्माण तथा सञ्चालनमा ढिलाइ हुँदा लागत आठ करोड बढ्न गयो ।’ परियोजनामा कार्कीसँगै युवराज जोशी, नेत्रप्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी, नवराजन शर्मालगायतको लगानी छ ।

यस्तै, प्रभु बैंकले ऋण सहयोग गरेको छ । कार्कीका अनुसार बन्जी र स्विङका लागि बनाइएको पुलमा मात्र आठ करोडभन्दा बढी लगानी भएको छ । यो पुलमा पर्यटकले १२० रुपैयाँ शुल्क तिरेर वारपार गर्न पाउनेछन् । कम्पनीले पोखराबाट बन्जीसम्म जानका लागि दुईतर्फी गाडीको सुविधा उपलब्ध गराएको छ । सुन्दर नगरी पोखराबाट बन्जीसम्मको दूरी ५५ किलोमिटर रहेको छ ।

सुझावित समाचार