धरानलाई जनसहभागिताको सहर बनाउन लाहुरेहरूलाई उत्साह जगाउने तथा भूपू बेलायती गोर्खा सैनिकको हकअधिकारकोे आन्दोलनका अभियान्ता धराननिवासी गजेन्द्र इस्वोको कोरोना सङ्क्रमणले निधन भएको छ ।
६३ वर्षीय भूपू सैनिक इस्वोको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज (मंगलबार) बिहान निधन भएको हो ।
केही दिनअघि कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको थियो ।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्वअध्यक्षसमेत रहेका ६३ वर्षीय इस्वाे किराँत याक्थुङ चुम्लुङका पूर्वकेन्द्रीय सचिव र हाल केन्द्रीय सल्लाहकार पनि रहेका थिए ।
छालाको क्यान्सर तथा मधुमेहका बिरामी इस्वोले लाहुरेहरूलाई सामाजिक विकासमा लगानी गर्न अभियान चलाएका थिए । उनको नेतृत्वमा धरानमा गोरखा सहकारी, गोरखा कम्प्लेक्स र गोरखा पार्क सञ्चालनमा छन् ।
पछिल्लो समय जनता समाजवादी पार्टी सुनसरीको अध्यक्ष रहेका इस्वो उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार पनि बनेका थिए ।