ढोरपाटन बाढी-पहिरो : दुई महिना बित्याे, भेटिएनन् बेपत्ता

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

बाग्लुङको पश्चिम ढोरपाटन नगरपालिका– ९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ।

भदौ १७ मा आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो । 

लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ ।

खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । ‘हामीले खोजी रोकेका छैनौँ, खोज्ने प्रक्रिया बदलिएको छ,’ प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भने, ‘सबै जानकारीसहितको विवरण देशभर पठाएका छौँ, सबैको अवस्था अज्ञात छ ।’

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतकसरहको राहत उपलब्ध गराएको छ । भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि प्रक्रिया सुरु भएको छ । 

बाढीपहिरोमा परी ढोरपाटन नगरपालिका– ९ बोबाङका ३१ वर्षीय जितबहादुर घर्तीमगर, नौ वर्षीय सेसन विक, चार वर्षीय रवि विक, २२ वर्षीया मनकुमारी विक, २१ वर्षीया टेकमाया विक, १० महिनाकी तिर्सना विक र १५ वर्षीया मनीषा विक बेपत्ता छन् । 

त्यस्तै, सोही ठाउँकै ५५ वर्षीया कौशिला पुल, २६ वर्षीय विलास पुन, ५५ वर्षीया तुलमती घर्ती, पाँच वर्षीय विराज विक, १० महिने शिशु उमिसा विक, तीन वर्षीया करली पुन, आठ वर्षीय मोहन विक र १२ वर्षीय समुन्द्र विक बेपत्ता छन् ।

 बेपत्तामध्ये अधिकांश एकाघरका परिवार छन् । बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेको थियो । एकजना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ का एक सय ३० घरमा क्षति पुगेको छ ।

सुझावित समाचार