कस्मिरका पत्रकारका व्यथा : पत्रिका बन्ददेखि प्रहरीको हिरासतसम्म

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

सामान्यतया पत्रकारितालाई जोखिमयुक्त पेसा मानिन्छ । अझ द्वन्द्वग्रस्त स्थान र आतंककारी हमला हुने स्थानमा पत्रकारिता गर्नु भनेको मृत्युसँग पौँठेजोरी खेल्नुजस्तै हो । अहिले यस्तै जोखिम मोलिरहेका छन् कस्मिरका पत्रकारले । 

गत वर्षको अगस्टमा भारत सरकारले कस्मिर भारतको संविधानअन्तर्गत नै रहेको घोषणा गरेसँगै त्यहाँका पत्रकारले केही राहत महसुस गरेका छन् । तर, अझै पनि उनीहरू हत्केलामा ज्यान राखी काम गर्नु परिरहेको बताउँछन् । कस्मिरमा विभिन्न समयमा सुरक्षाकर्मी र प्रहरी प्रशासनले स्थानीय पत्रकारलाई दुःख दिने गरेका छन् । सामान्य समाचारलाई लिएर पनि अधिकारीहरूले पत्रकारलाई मानसिक तनाव मात्र दिँदैनन्, हिरासतमा समेत लिन्छन् । घन्टौँको सोधपुछपछि त्यत्तिकै छाड्छन् । गत वर्ष पनि प्रहरी प्रशासनले कस्मिरका विभिन्न पत्रिकामा काम गर्ने १८ पत्रकारमाथि समाचारकै विषयमा मुद्दा चलाएको थियो । कस्मिरमा कार्यरत पाँच पत्रकारको अनुभव बिबिसीले यसरी साटेको छ । 

प्रहरी कार्यालयमा झापड खाएँ : अकिव जाभेद (२८ वर्ष)

यसै सेप्टेम्बरमा पत्रकार अकिव जाभेद श्रीनगरको साइबर प्रहरी कार्यालयमा दिनहुँ हाजिर भए । प्रहरीले अकिवलाई समाचारको हेडिङ र फोटो परिवर्तन गर्न दबाब दिएको थियो । अकिवले ‘कस्मिरका जनताले ट्विटर र सामाजिक सञ्जालमा चुपचाप विरोध’ भनी फोटोसहित समाचार पोस्ट गरेका थिए । प्रहरीलाई यो मन परेन । तत्कालै अकिवलाई सबै सामग्री हटाउन निर्देशन दियो । 

केन्द्र सरकारको हस्तक्षेपपछि कस्मिरमा कस्मिरको स्वतन्त्र हनन भएको भनी अकिवले अर्को समाचार लेखे । यी दुवै समाचारप्रति साइबर प्रहरीको गम्भीर आपत्ति थियो । दुवैपटक उनी प्रहरी कार्यालयमा हाजिर भए । वेभ पोर्टलमा पोस्ट भएको फोटो स्टोरीअनुसार नभएको प्रहरीको दाबी थियो । अकिवले दुवैपटक प्रहरीको निर्देशन मानेनन् । 

उनी दोस्रोपटक प्रहरी कार्यलयमा हिरासतमा परे । एक प्रहरी जवानले उनलाई झापड पनि हाने । अकिव भन्छन्, ‘साइबर प्रहरी कार्यालयमा म बन्दीझँै भएँ, मलाई मास्क लगाएका एक प्रहरी जवानले झापड पनि हाने ।’ प्रहरीले उल्टै अकिवले लगाएको आरोप झुटो भएको जनाएको छ । ‘हामीहरूबीच आपसी असमझदारी मात्र भएको हो, यसबाहेक बाहिर आएकोजस्तो केही होइन,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केवल हेडिङअनुसार फोटो नमिलेको मात्र हो, यसलाई परिवर्तन गर्न भनेको हौँ ।’

पत्रकार अकिवले साइबर प्रहरीले केवल पत्रकारलाई अनावश्यक दुःख दिएको दाबी गरेका छन् । ‘प्रहरीको भनेको जस्तो भए, मलाई किन कार्यालयमै बन्दी बनाएर झापड हान्यो,’ उनले भने, ‘यसलाई मैले पेसामाथि राज्यको हेपाह प्रवृत्तिका रूपमा लिएको छु ।’ 

रातिदेखि बिहानसम्म सोधपुछ: पिर्जानदा आसिक (३९ वर्ष)

आसिक भारतको चर्चित राष्ट्रिय दैनिक पत्रिका द हिन्दुमा कार्यरत छन् । गत अप्रिलमा श्रीनगर प्रहरी कार्यालयमा आसिकविरुद्ध एउटा रिपोर्ट दर्ता भयो । आसिकले तत्कालै भएका ताजा घटनाको सामाचार द हिन्दुमा सम्प्रेषण गरेका थिए । ‘सरकारले घोषणा गरेको दुईमध्ये एक आतंककारीको शव परिवारलाई दिने निर्णय ग¥यो’ भनी समाचार आसिकले लेखेका थिए । सुरक्षाकर्मीको कारबाहीमा दुवैजना मारिएका थिए । सुरक्षाकर्मीले नै ती दुवैजनाको शव जंगलमा गाडेको थियो । 

आसिकको यो समाचारपछि सुरक्षा अधिकारीले परिवारलाई शव नदिएको धारणा सार्वजनिक गरेका थिए । मृतकमध्ये एकजनाको परिवारले सुरक्षाकर्मीकै अनुमतिमा चिहानबाट शव प्राप्त भएको आसिकलाई जानकारी गराएको थियो । आसिकले परिवारकै सूचनाको आधारमा समाचार लेखेको दाबी गरेका छन् । यसका साथै उनले ती परिवारसँग कुराकानी गरेको रेकर्ड तथा लिखित प्रमाण आफूसँग भएको जानकारी दिए । तर, सुरक्षा अधिकारीहरूले मारिएका कथित आतंककारीको परिवारबाट कुनै निवेदन नआएको जवाफ फर्काए । आसिकको समाचार जब प्रकाशित भयो, त्यसवेला प्रशासनमा हलचल मच्चियो । प्रशासनले आसिकले लेखेको समाचार ‘फेक न्युज’ भनी दाबी ग¥यो । प्रशासनले यस किसिमको समाचारले स्थानीय नागरिकप्रति प्रहरीको अविश्वास बढ्ने र त्रास फैलाउने सक्ने जनायो ।

आसिकले विनाप्रमाण र घटनास्थलको अनुसन्धान नगरी हचुवाका भरमा समाचार लेखेको आरोप सुरक्षाकर्मीले लगाए । यता श्रीनगरमा प्रहरीले आसिकसँग धेरैपटक सोधपुछ गरेको थियो । घटना गम्भीर भएपछि द हिन्दु पत्रिकाले घटनासम्बन्धी धारणा राख्यो । ‘परिवारकै अनुमतिमा हाम्रा रिपोर्टर चिहानमै गएर ती व्यक्तिको शव हेर्न गएका थिए, त्यहाँ त्यो व्यक्तिको शव थिएन,’ द हिन्दुको भनाइ थियो । तर, प्रहरीलाई न त आसिकको जवाफ र द हिन्दुले प्रकाशित गरेको दोस्रो समाचार नै चित्त बुझेको थियो । 
मध्यरातमै आसिक दुईपटक प्रहरी कार्यालयमा हाजिर हुन पुगे । आसिकको घरबाट प्रहरी कार्यालय ६० किलोमिटर टाढा पर्छ । पहिलोभन्दा दोस्रोपटक प्रहरी कार्यालयमा हाजिर हुँदा आसिकले निकै कष्ट भोगे । प्रहरीले आसिकलाई बारम्बार एकै शब्द सोधिरह्यो । रातमा प्रहरी कार्यालय पुगेका आसिक बिहान साढे १० बजे मात्र फर्के ।

आसिकले भने, ‘त्यो अवधिमा मैले निकै मानसिक तनाव झेलेँ, अफिसबाट समाचारमा केही पनि करेक्सन गर्नुपर्ने भनेको छैन ।’ प्रहरीले आफूलाई कारबाही गर्ने उद्देश्यका साथ फसाउन खोजेको उनको भनाइ छ । ‘यद्यपि प्रहरीले मलाई अहिले छोडेको छ, तर मेरो केस यथावत् छ, कुनै पनि वेला म हाजिर हुनुपर्छ,’ उनले भने । 

प्रशासनद्वारा एक वर्षपछि प्रतिशोध : अनुराधा बसिन (५२ वर्ष)

यही १९ अक्टोबरमा प्रशासनले श्रीनगरको स्थानीय कस्मिर टाइम्स सिल गर्यो । कस्मिर टाइम्समा अनुराधा कार्यकारी सम्पादक थिइन् । प्रशासनले विनाकारण पत्रिका बन्द गरेको अनुराधाको भनाइ छ । प्रशासनले कस्मिर टाइम्सका कर्मचारीलाई पूर्वसूचना नपठाएको र पत्रकार त्रसित बनाउने उद्देश्यले पत्रिका बन्द गराएको कार्यकारी सम्पादक अनुराधाको भनाइ छ । 

श्रीनगरको छिमेकी जिल्ला जम्मुमा भने अहिले पनि कस्मिर टाइम्स निरन्तर प्रकासित भइरहेको छ । तर, सबै पत्रिकाका स्टाफ घरमै बसेर काम गरिरहेका छन् । त्यहाँ पनि प्रशासनले पत्रिकाको अफिस बन्द गरेको छ । कस्मिर टाइम्सका सम्पादक गुलिडले जिल्लाबाट प्रकाशित हुने पत्रकारलाई निरुत्साहित बनाउने उद्देश्यका साथ पत्रिका बन्द गराएको जनाएका छन् । कार्यकारी सम्पादक अनुराधा प्रतिशोध लिने भावनाले नै यस्तो काम भएको दाबी गर्छिन् । खासमा प्रशासनले एक वर्षअघिको घटनालाई लिएर यस्तो कार्य गरेको उनको भनाइ छ । 

सन् २०१९ मा सर्वोच्च अदालतले जिल्लाका सबै कम्युनिकेसन ब्लक गरेको थियो । गत वर्ष केन्द्र सरकारले कस्मिरसम्बन्धी निर्णय गर्दा अदालतले त्यहाँका ल्यान्डलाइन, मोबाइल, इन्टरनेट तथा सोसियल मिडिया प्रतिबन्धको अन्तरिम आदेश दिएको थियो । 

अनुराधाले अदालतलाई चुनौती दिँदै समाचार लेखेकी थिइन् । समाचार लेखेको दोस्रो दिन अनुराधा अदालतमा हाजिर भइन् । 

चार घन्टा प्रहरीको हिरासतमा : फाहाद साह (३० वर्ष)

गत मेमा सुरक्षाकर्मी र आतंककारीबीच श्रीनगरमा दोहोरो भिडन्त भएको थियो । दुई पक्षबीच दोहोरो गोली चलिरहँदा श्रीनगरका कैयौँ घरमा क्षति पुगेको थियो । फाहादले यसै घटनासम्बन्धी आफ्नो साप्ताहिक पत्रिका द कस्मिर वालामा समाचार लेखे । उनी यसै पत्रिकाका संस्थापक सम्पादक हुन् । फाहादको रिपोर्टमा कम्तीमा १५ घर ध्वस्त भएको उल्लेख छ । उनले घटनाका सबै विवरणसहित आफ्नो वेभ पोर्टलमा भिडियो पनि पोस्ट गरेका थिए । यतिसम्म कि प्रहरीले स्थानीय गहना पसल लुटेको फाहादले लेखेका छन् । 

समाचार प्रकाशित भएपछि प्रहरी प्रशासनले सुरुमा उनको पत्रिका बन्द गराउने धम्की दिएको थियो । ‘जब दुई पक्षीबीच गोली चलिरहेको थियो, श्रीनगरका सबै कम्युनिकेसन रोकिए, हामीले प्रहरीलाई सम्पर्क गर्न धेरै कोसिस गरेका थियौँ, त्यसवेला सम्पर्कमा आएका प्रहरीले समेत केही सहयोग गरेन, यसै घटनाका आधारमा समाचार लेखेको हुँ,’ फाहादले समाचार लेख्नुको कारण खुलाए । 

समाचार प्रकाशित भएको एक सातापछि मात्र प्रहरीले उनलाई अनुसन्धानका लागि बोलाएको थियोे । प्रहरी प्रशासनका अनुसार उनको समाचार झुटो थियो । ‘घटना सबै झुटो थियो, समाचारमा आएकोजस्तो केही पनि भएको थिएन,’ प्रहरीको भनाइ छ । 

फाहादले आफ्नो सफाइ राख्ने क्रममा प्रहरी कार्यालयमा चार घन्टा बिताएका थिए । उनलाई बारम्बार पत्रिका बन्द गराउने धम्की आइनै रह्यो । ‘यो चार घन्टा प्रहरीको हिरासतमा रहँदा मानसिक तनाव मात्र पाएँ र अनावश्यक दुःख भोगेँ,’ उनले भने । 

आपराधिक गतिविधिमा संलग्न भएको आरोप : मार्रात जहरा (२६ वर्ष)

‘यहाँ कोही पनि स्पष्टसँग बोल्न हिम्मत गर्दैनन्, व्यक्तिगत रूपमा मेरो जानकारीमा भएअनुसार धेरैले पत्रकारिता त्यागेका छन्, यहाँ प्रहरीले सधैँ डर र धम्की मात्र दिने गर्छ,’ फोटो पत्रकार मार्रातले भनिन् । 

अप्रिल महिनामा मार्रातविरुद्ध एउटा उजुरी परेको थियो । उनीमाथि गैरकानुनी गतिविधिमा संलग्न रहेको प्रहरी प्रशासनको दाबीसहित मुद्दा चलाएको थियो । युएपिए एक्ट अनुसार मार्रातको गतिविधि कानुनविपरीत रहेको ठहर प्रशासनले ग¥यो । २२ वर्षीय मार्रातले धेरैजसो ग्रामीण क्षेत्रमा भएका घटनाका फोटो लिने गर्छिन् । यसै आधारमा उनी समाचार पनि बनाउँछिन् । 

सन् ०१८ मा सुरक्षाकर्मीको हवाई आक्रमणमा स्थानीय बुहरान वानीको मृत्यु भएको थियो । मार्रातले ‘निर्दोष व्यक्तिमाथि हवाई आक्रमण’ भनी समाचार सम्प्रेषण गरेकी थिइन् । तर, समाचारमा उल्लेख भएअनुसार यस्तो केही नभएको सुरक्षाकर्मीको दाबी छ । यही समाचारको आधारमा उनलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । यद्यपि उनलाई हिरासतमा लिएको थिएन । ‘कैयौँपटक मलाई धम्की आउने गरेको छ,’ मार्हात भन्छिन्, ‘हामीलाई कमजोर बनाउने एउटा उपाय मात्र हो ।’ 

सुझावित समाचार