अवैध जडीबुटीसहित पाँच पक्राउ

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडीबुटीसहित पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले बेसीसहर नगरपालिका– ८ नारायणस्थानबाट तीनजना र झिँगेखोलाबाट दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले अवैध रूपमा जडीबुटी लिई मनाङबाट बेसीसहर हुँदै काठमाडौं जादै गरेको ग.१ज ७४५३ नम्बरको पिकअप बोलेरो जिपमा लुकाइछिपाई राखेको अवस्थामा जटामसी, बुकीफूल, धुपीपात, सुनपाती र भोजपत्र गरी दुई सय १५ केजी अवैध जडीबुटी बरामद गरेको जनाएको छ । 

यस्तै झिँगेखोलाको दुई घरबाट पाँचऔँले, निरमसी, मजिठो, पिप्ला, सतुवा, जटामसी, ढालिङ र कुड्की गरी चार सय ८२.५ र आठ किलो अवैध जडीबुटी बरामद गरिएको प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । थापाका अनुसार पक्राउ पर्नेमा दोर्दी गाउँपालिका– ८ का ३१ वर्षका जिपचालक कर्ण गुरुङ, जडीबुटी ओसारपसार कार्यमा संलग्न मनाङ नारफु गाउँपालिका– २ का ४५ वर्षका लाम्पाछिरिङ लामा र मनाङ ङिस्याङ गाउँपालिका– ३ का २९ वर्षकी पल्मु लामा रहेका छन् । यस्तै, बेसीसहर नगरपालिका– ८ झिँगेखोलाबाट ४४ वर्षकी शान्ताकुमारी तामाङ र ४६ वर्षका मीनबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

पाँचजनाबाट बरामद गरिएको ७०५.५ किलो जडीबुटीको रकम अनुमानित १९ लाख ३२ हजार  दुई सय ९० रुपैयाँ रहेको छ । पक्राउ परेका पाँचजनालाई आइतबार नै कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार