बालबालिका राष्ट्रका भविष्य हुन् । हाम्रा सारा जिम्मेवारी यिनैका काँधमा बिसाएर हामीले बिदा लिनुपर्नेछ । भोलि राजनेता, व्यापारी, शिक्षक, सामाजिक अभियन्ता, विज्ञ सबै यिनै हुन्छन् । आजै यसतर्फ सोच नगरे भोलिको हाम्रो संसार कस्तो होला । त्यसैले त उनीहरूको पालनपोषण, शिक्षा र स्वास्थ्यमा सबै मुलुकले केही न केही बन्दोबस्त मिलाएका हुन्छन् ।
यिनै बालबालिकामा केन्द्रित भई शिखा बुक्सले ‘बाल उद्यान’ नामक पुस्तक बजारमा ल्याएको छ । ३७ वर्षे शिक्षण पेसाको अनुभवलाई इलाम देउमाईका पूर्वप्रधानाध्यापक खडानन्द अधिकारीले बाल उद्यान नामक पुस्तक तयार पारेका हुन् ।
किताबबारे प्राडा मनप्रसाद वाग्ले लेख्छन्, ‘बालबालिकाको स्वतन्त्रता, उनीहरूको जिज्ञासा, प्रकृतिसँगको उनीहरूको सामीप्य, बाल सिर्जना, बालबालिकामा उत्पन्न हुने भय र तिनका कारण, बालबालिकाको मनोवैज्ञानिक अवस्था र दैनन्दिन रूपमा उनीहरूमाथि गर्नुपर्ने निगरानीलाई समेत विस्तृत व्याख्या हुनु यो पुस्तकको विशेषता हो ।’ सामाजिक, धार्मिक, पारम्परिक र मनोवैज्ञानिक पक्षको मिश्रण गर्न यो पुस्तक हाम्रोजस्तो देशका लागि उपयोगी हुने वाग्लेले लेखेका छन् । प्राडा विद्यानाथ कोइलाका अनुसार पुर्खाले बालबालिकाको पठनपाठन कसरी गरे, गराए । पश्चिमाले कसरी गर भने, मनोविद्ले के गर्नुपर्छ भने, शिक्षाविद्ले के भने, लेखकको शिक्षकीय अनुभवले के गर्नुपर्छ भन्योे लगायत यावत् प्रश्नको उत्तर यस पुस्तकमा भेटिनेछ । पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।