मुख्यमन्त्री पौडेल कोरोनामुक्त

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन् । 

६ कात्तिकमा कोरोना पुष्टिपछि काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल उपचाररत थिए ।

१५ कात्तिकमा धुलिखेलस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज आइतबार दिउँसो उनी डिस्चार्ज भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

सँगै कोरोना पुष्टि भएको मुख्यमन्त्री पौडेलकी पत्नी विजयाको पुनः परीक्षणको रिपोर्ट पजिटिभ नै आएपछि उनीहरू दुवैजना ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

७४ वर्षीय मुख्यमन्त्री पौडेल १० दिनमै कोरोनामुक्त भए पनि उनकी पत्नीको रिपोर्ट पजिटिभ आएका कारण सरकारी निवासको आइसोलेसनमा राखिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए । 

हाल मुख्यमन्त्री र उनकी पत्नीको स्वास्थ्यमा कुनै समस्या नभएको दाहालले जानकारी दिए ।

मधुमेहका बिरामीसमेत रहेका मुख्यमन्त्री पौडेलको गत जेठमा गंगालालमै मुटुको शल्यक्रिया गरिएको थियो । 

कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत ७ कात्तिकमा काठमाडौं लगिएको हो । 

मुख्यमन्त्री पौडेल र उनीकी पत्नीसँगै एक सुरक्षाकर्मी, दुईजना निजी चालक र एकजना कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

हाल सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगी हेटौँडास्थित मुख्यमन्त्रीको सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

सुझावित समाचार