भारतमा कोरोना संक्रमित ८१ लाख ८४ हजार नाघे, एक लाख २२ हजारभन्दा बढीको मृत्यु

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतमा कोरोना भाइरस संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४६ हजार नौ सय ६४ जना संक्रमित थपिएका छन् भने चार सय ७० जनाको मृत्यु भएको छ । 

संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त पनि भएका छन् । कोभिड– १९ संक्रमणबाट हालसम्म एक लाख २२ हजार एक सय ११ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

भारतभर हाल पाँच लाख ७० हजार चार सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबैभन्दा  प्रभावित राज्यको रूपमा रहेको छ । यहाँ एक लाख २४ हजार एक सय ४२ जना सक्रिय संक्रमित छन् । महाराष्ट्रमा १५ लाख १० हजार तीन सय ३५ जना भाइरसमुक्त भएका छन् भने ४३ हजार नौ सय ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

त्यसपछि दोस्रो स्थानमा केरला रहेको छ । यहाँ ९१ हजार दुई सय ९७ जना सक्रिय संक्रमित छन् । तीन लाख ४० हजार तीन सय २४ जना कोरोनामुक्त भएका छन् । एक  हजार चार सय ८४ जनाको मृत्यु भएको जनाइएको छ । तमिलनाडुमा २२ हजार एक सय ६४ जना सक्रिय संक्रिमित रहेका छन् भने नयाँदिल्लीमा ३२ हजार सात सय १९ जना सक्रिय संक्रमित छन् । 
 

सुझावित समाचार