न्युजविकको चर्चित कभर स्टोरी : म्याडम प्रेसिडेन्ट

मिडिया बहस

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

क्लिन्टनलाई राष्ट्रपति घोषणा गर्ने हतारोमा न्युजविक नराम्ररी फस्न पुग्यो, यो म्यागजिनले मतपरिणाम आउनुअघि नै हिलारीले जितेको आवरणसहितको अंक बजार पठाइसकेको थियो

सन् २०१६ को राष्ट्रपतीय चुनाव अमेरिकी इतिहासको सबैभन्दा प्रतिस्पर्धात्मकमध्ये एक मानिएको थियो । राष्ट्रपतिको उम्मेदवारका रूपमा थिए, व्यापारी डोनाल्ड ट्रम्प र पूर्वसिनेटर तथा विदेशमन्त्री हिलारी क्लिन्टन । नोभेम्बर ३ मा भएको निर्वाचनमा डोनाल्ड ट्रम्पले अप्रत्याशित रूपमा हिलारी क्लिन्टनलाई पराजित गरे । मूलधारका अधिकांश मिडिया र मतसर्वेक्षणले हिलारी क्लिन्टनले चुनाव जित्ने बताइरहेका थिए । मतसर्वेक्षणको भर परेर क्लिन्टनलाई राष्ट्रपति घोषणा गर्ने हतारोमा एक चर्चित म्यागजिन न्युजविक भने नराम्ररी फस्न पुग्यो । म्यागजिनले हिलारीले जितेको आवरणसहितको अंक बजार पठाइसकेको थियो । मतपरिणाम ट्रम्पको पक्षमा आएपछि न्युजविकले रातारात बजार पठाइसकेको झन्डै डेढ लाख प्रति म्यागजिन फिर्ता गर्नुपरेको थियो । 

यो अवस्था कसरी आयो त ? मिडिया र मतसर्वेक्षणकर्ता संस्था धरातलीय पूर्वाग्रहका कारण यसो भएको आलोचकहरू बताउने गर्छन् । आलोचकका अनुसार ट्रम्पविरोधी भावनामा डुबेका मिडिया र मतसर्वेक्षकले धरातलीय यथार्थ नै ठम्याउन सकेनन् । 

अमेरिकी मिडियाको राजनीतिक पक्षधरता लुकेको कुरा होइन । त्यहाँका मिडियामा लिबरल र कन्जरभेटिभ पक्षधरता छ । अमेरिकाका दुई प्रमुख दलमध्ये डेमोक्रेटिक तुलनात्मक रूपमा लिबरल र रिपब्लिकन पार्टी कन्जरभेटिभ भएकाले मिडिया यी दुई पार्टीको पक्षमा खुलेरै देखिन्छन् । 

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतीय उम्मेदवार हिलारीप्रति अधिकांश मिडिया नरम रहेको आरोप लागेको थियो । अमेरिकाका अधिकांश मिडिया पाँच कर्पाेरेट समूह एटी एन्ड टी, कम्कास्ट, डिज्ने, फक्स कर्पाेरेसन र भायकमको स्वामित्वमा छ । यी ठूला कर्पाेरेसनले जुन उम्मेदवारको पक्षमा आफूलाई उभ्याउँछन्, तिनैले चुनाव जित्ने माहोल बन्छ । मूलतः अमेरिकी मिडियाको पक्षधरता अमेरिकी कर्पाेरेट जगत्को पक्षमा देखिने उम्मेदवारको पक्षमा देखिन्छ । सन् २०१६ मा यस्तो उम्मेदवार हिलारी रहेको मानिएको थियो । त्यसैले त कन्जरभेटिभ मिडिया भनेर चिनिने फक्स न्युजले समेत सुरुमा ट्रम्पलाई समर्थन गरिरहेको थिएन । कुनै राजनीतिक अनुभव नभएको भए पनि डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार हुनुअघि गुमनाम व्यक्ति भने थिएनन् । 

मूलतः अमेरिकी मिडियाको पक्षधरता अमेरिकी कर्पाेरेट जगत्को पक्षमा देखिने उम्मेदवारको पक्षमा देखिन्छ । सन् २०१६ मा यस्तो उम्मेदवार हिलारी रहेको मानिएको थियो । त्यसैले त कन्जरभेटिभ मिडिया भनेर चिनिने फक्स न्युजले समेत सुरुमा ट्रम्पलाई समर्थन गरिरहेको थिएन । 

पिताबाट विरासतका रूपमा पाएको घरबार व्यवसायलाई थप उचाइमा पुर्याएका ट्रम्प एक सफल व्यवसायीको रूपमा चर्चित थिए । सन् २००३ मा सुरु भएको ‘द अप्रेन्टिस’ नामक चर्चित रियालिटी टिभी सोबाट त उनी झनै धेरै अमेरिकीमाझ परिचित बने । ट्रम्प उक्त कार्यक्रमको निर्माताका अतिरिक्त होस्ट पनि थिए । उता, हिलारी अमेरिकी राजनीतिको एक वंश मानिने क्लिन्टन परिवारकी सदस्य हुन् । उनका पति बिल क्लिन्टन सन् १९९३ देखि २००१ बीचमा राष्ट्रपति थिए । त्यसैले दुवै उम्मेदवार अमेरिकी मतदाताका लागि नयाँ थिएनन्।

डोनाल्ड ट्रम्प उम्मेदवारी घोषणादेखि नै विवादास्पद टिप्पणीका लागि मिडियामा विवादमा आइरहेका थिए । विकासोन्मुख मुलुकबाट अमेरिका आएका आप्रवासीलाई अपराधी तथा बलात्कारीका रूपमा देखाउने उनको टिप्पणीको सर्वत्र विरोध भयो । तर, ट्रम्पले सम्पूर्ण चुनावी अभियानका क्रममा नश्लवादी टिप्पणी गरिरहे । सन् २०१६ को राष्ट्रपतीय चुनावको पश्चिमी राष्ट्रहरूमाझ पपुलिस्ट राजनीतिक ज्वरो उच्च बिन्दुमा थियो । ब्रेक्जिट, युरोपेली आप्रवासन प्रकरणदेखि ट्रम्पको उदयसम्ममा हावी भएको पश्चिमी पपुलिस्ट लहर मुख्यतः आप्रवासी तथा खुला व्यापारविरुद्ध लक्षित देखिन्थ्यो । ट्रम्पले यो लहरलाई आफ्नो चुनावी फाइदाका लागि उपभोग गरे, साथसाथै पपुलिस्ट लहरलाई थप उचाइमा पुर्याए । 

ट्रम्पका विवादित टिप्पणीका अतिरिक्त उनले उम्मेदवारी दिएको रिपब्लिकन पार्टीमा केही अनुभवी राजनीतिज्ञ पनि चुनावी दौडमा भएकाले उनलाई मिडियाले बलियो प्रतिस्पर्धीका रूपमा लिएका थिएनन् । तर, रमाइलो कुरा कमजोर प्रतिस्पर्धी मान्दामान्दै मिडियामा सबैभन्दा धेरै कभरेज ट्रम्पले नै पाइरहेका थिए । उनका हरेक विवादित टिप्पणीलाई मिडियाले जोड दिन थालेका थिए । अमेरिकी आमजनतामा सबैभन्दा बलियो प्रभाव हुने न्युज टिभीले ट्रम्पका समाचारलाई अत्यधिक कभर गर्न थालेपछि विवाद पनि उत्पन्न भएको थियो । अमेरिकी राष्ट्रपतिको चुनावी दौडमा सहभागी हुनेहरूले ठूलो रकम राजनीतिक विज्ञापनका रूपमा खर्च गर्ने गर्छन् ।

तर, टिभीहरूले ट्रम्पका हरेक टिप्पणीको कभरेज गर्दा उनको लाखौँ डलरबराबरको प्रचार भइरहेको थियो । अध्ययनका अनुसार सन् २०१६ को निर्वाचनका क्रममा राष्ट्रपति पदका अन्य उम्मेदवार टेड क्रुज, जोन कासिक, हिलारी क्लिन्टल र बर्नी स्यान्डर्ससमेतले समग्रमा जति कभरेज पाए, राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प एक्लैले त्यसभन्दा बढी कभरेज पाएको देखाएका छन् । त्यसैगरी, मिडियामा रिपब्लिकन प्राइमरीले जति कभरेज पाएको थियो, त्यसको तुलनामा डेमोक्र्याटिक प्राइमरीले पाएको कभरेज उल्लेखनीय रूपले कम थियो । रिपब्लिकन पार्टीका आकांक्षीमा ट्रम्प भएकाले यसो भएको थियो ।

उता, हिलारीको भने विदेश मन्त्रालय सम्हाल्दाको समयको इमेल प्रकरण मिडियामा धेरै उचालिइरहेको थियो । यसले उनको नकारात्मक छवि बनेको थियो । हिलारीको यही नकारात्मक छवि उनको हारको कारण भएको पनि बताइन्छ । आमनिर्वाचनका क्रममा पनि ट्रम्पको नीति तथा मुद्दाका कभरेज हुँदा हिलारीको नीति तथा एजेन्डाको भन्दा पनि उनको विवादास्पद इमेल प्रकरणकै प्रधानता रह्यो । 

चुनावी अभियान अघि बढ्दै जाँदा रिपब्लिकन पार्टीका बलिया ठानिएका प्रत्यासीहरू एकपछि अर्को गर्दै चुनावी दौडबाट बाहिरिए र ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवारका रूपमा चुनिए । डेमोक्रेटिक पार्टीभित्र भने सुरुमा हिलारीलाई निर्विवाद उम्मेदवार ठानिएको थियो । तर, अप्रत्याशित रूपमा सानो राज्य भरमोन्टका सिनेटर बर्नी स्यान्डर्सले उनलाई आन्तरिक छनोटमा बलियो चुनौती दिए । प्रजातान्त्रिक समाजवादीका रूपमा चिनाउने बर्नी स्यान्डर्सलाई हराएर अन्ततः चुनाव ट्रम्प भर्सेस क्लिन्टन बन्यो । 

मिडियाहरू निर्वाचनको दिनसम्म पनि ट्रम्पको हार र क्लिन्टनको जितको कुरा गरिरहेका थिए । लिबरल भनिने मिडिया ट्रम्पविरुद्ध खुलेर लागेका थिए । ट्रम्प पनि ती मिडियाप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुन्थे । एक अवसरमा उनले आफूले क्लिन्टनसँग मात्र नभएर ‘बेइमान’ मिडियाहरूसँग पनि लड्नुपरेको बताएका थिए । 

ट्रम्प क्लिन्टनजस्तो व्यावसायिक राजनीतिज्ञ थिएनन्, तर अर्बपति व्यापारीका रूपमा उनी अभिजात वर्गकै सदस्य थिए । तथापि, उनले चलाखीपूर्ण रूपमा आफूलाई तल्लो वर्गको उम्मेदवारका रूपमा चिनाउन सफल भए । विवादित टिप्पणी र मिडियामा आलोचनाजस्ता कुरालाई उनले राजनीतिक लाभमा परिणत गर्न सफल भए । ट्रम्पले राजनीतिमा आफू नयाँ भएकाले भ्रष्ट नभएको र जिताएमा भ्रष्ट संस्थापनलाई फरक गर्ने बताए । आफ्नो विवादित टिप्पणीलाई उनले आफू अरूले सुन्न चाहेको बोल्ने राजनीतिज्ञ नभएर आमसर्वसाधारणले जस्तै जे मनमा आउँछ, त्यही बोल्ने उम्मेदवार भएको बताए । यसो भनेर ट्रम्पले आफूलाई संस्थापनविरोधी नेता र क्लिन्टनलाई एलिटको नेताका रूपमा प्रचार गरिरहेका थिए । पश्चिमी समाजमा संस्थापनविरोधी लहर चलेको वेला ट्रम्पको यस रणनीति सफल साबित भइरहेको थियो । तर, मतसर्वेक्षणमा भने ट्रम्प कहिल्यै पनि बलिया देखिइरहेका थिएनन् । दुई पार्टीका उम्मेदवारका रूपमा छनोट भएपछि लगभग सबैजसो सर्वेक्षणमा क्लिन्टन ट्रम्पभन्दा अघि देखिएका थिए । अन्तिम समयसम्म पनि मतसर्वेक्षणमा ट्रम्पले चुनाव हार्ने देखिएको थियो । मिडियाहरूले पनि यही कथ्य दोहोर्याइरहेका थिए । 

ट्रम्पले अमेरिकामा उल्लेख्य अल्पसंख्यकका रूपमा रहेका अश्वेत तथा ल्याटिनो समुदायको आत्मसम्मानमा चोट पुर्याएकाले तिनको मत क्लिन्टनले पाउने ठानिएको थियो । तर, धेरैले ख्याल नगरेको पाटो पश्चिमी राज्यमा पपुलिस्ट लहर चलिरहेको थियो र यो लहरमा मूल समुदायले आफूलाई पीडितका रूपमा हेर्न थालेको थियो । अमेरिकाको मूल श्वेत समुदायको एक हिस्साले ट्रम्पप्रति झुकाव राखेको देखियो । ती ठूलो संख्यामा मतदानमा आउँदा ट्रम्प विजयी भए । 

तर, मिडियाहरू भने निर्वाचनको दिनसम्म पनि ट्रम्पको हार र क्लिन्टनको जितको कुरा गरिरहेका थिए । लिबरल भनिने मिडिया ट्रम्पविरुद्ध खुलेर लागेका थिए । ट्रम्प पनि ती मिडियाप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुन्थे । एक अवसरमा उनले आफूले क्लिन्टनसँग मात्र नभएर ‘बेइमान’ मिडियाहरूसँग पनि लड्नुपरेको बताएका थिए । 

मतसर्वेक्षणमाथि अत्यधिक भर पर्दा न्युजविक म्यागजिन भने नराम्ररी फस्न पुग्यो । साप्ताहिक रूपमा प्रकाशित हुने न्युजविक पत्रिकाले निर्वाचन परिणाम आउनुपहिले नै क्लिन्टनले जितेको शीर्षकसहित सार्वजनिक गर्यो । साप्ताहिक पत्रिका भएकाले यो पहिले नै बजार गइसकेको थियो । न्युजविकका वितरकले चुनावअघि नै म्यागजिनको चुनाव विशेषांकका प्रतिहरू बुकस्टोर पठाएका थिए । तिनलाई चुनावको मतपरिणाम आउनुअघि नबेच्न भनिए पनि केही खुद्रा विक्रेताले पत्रिका बेचेका थिए । यो विशेष प्रति किनेका ग्राहकले पत्रिकाको आवरण सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवाद मच्चिएको थियो । ट्रम्पले पहिलेदेखि नै मिडिया आफ्नो विरोधमा रहेको र आफूविरुद्ध षड्यन्त्र हुने बताउँदै आएका थिए । मतपरिणामअघि नै यस्तो आवरण आउँदा उनका समर्थकले ट्रम्पलाई हराउने योजना बनेको समेत लख काटे । 

विवाद बढ्दै गएपछि न्युजविकले आफूहरूले कुनै पनि विशेषांक प्रकाशनार्थ तेस्रो पक्षलाई दिने गरेको स्पष्टीकरण दियो । न्युजविकको विशेषांक प्रकाशित गर्ने तेस्रो पक्ष टोपिक्स मिडियाले अन्ततः यसको जवाफ दिनुपर्यो । टोपिक्सले आफूहरूले दुवै उम्मेदवारको बारेमा विशेषांक तयार पारेर राखेको तर गल्तीले हिलारीको मात्र बनेर गएको बतायो । तर, खासमा यो विवादपछि पनि टोपिक्स मिडियाले बजारमा गइसकेको अंक फिर्ता गरेन । चुनाव परिणाम क्लिन्टनकै पक्षमा आउनेमा ऊ ढुक्क थियो । तर, अन्ततः नोभेम्बर ८ को चुनावमा मतपरिणाम ट्रम्पको पक्षमा आएपछि बजार पठाइसकेको न्युजविकको एक लाख २५ हजार चुनाव विशेषांक फिर्ता गर्नुपर्यो । १७ अंक बिकिसकेकाले फिर्ता नआएको सम्बन्धित वितरकले बताएको थियो । यस घटना न्युजविकलाई मात्र होइन, समग्र मिडिया जगत्लाई एउटा पाठ बन्यो । 

ट्रम्पले चुनाव जितेपछि पनि अमेरिकी मिडिया र ट्रम्पको नोकझोक सकिएन । मूलधारका अमेरिकी मिडियाका रिपोर्ट र विचारहरूमा ट्रम्पको ठूलो विरोध भइरह्यो । सन् २०१७ को पिउ रिसर्चको एक रिपोर्टअनुसार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछिका ६० दिनमा उनले पाएको मिडिया कभरेजमा ६२ प्रतिशत नकारात्मक र ५ प्रतिशत सकारात्मक थियो । तर, डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामाले पहिलो २ महिनामा ४२ प्रतिशत सकारात्मक र २० प्रतिशत नकारात्मक कभरेज पाएका थिए । 

ट्रम्प पनि मूलधारका मिडियामाथि चुप बसेनन् । उनी आफूप्रति नकारात्मक हुने मिडियालाई ‘फेक न्युज’ भन्छन् । ट्रम्पले धेरै प्रयोग गर्ने यो पदावली पछिल्लो समय समाचार संस्थाहरूमाथिको नागरिकको विश्वास कम गर्न हतियारीकरण भइरहेको छ । उनले यसलाई आफूविरुद्धका कुनै पनि नकारात्मक समाचारलाई खारेज गर्न पनि अत्यधिक प्रयोग गरिरहेका छन् । सन् २०१८ मा ट्रम्पले आफ्ना पूर्ववर्ती राष्ट्रपति निक्सन तथा स्टालिन र अन्य सर्वसत्तावादी नेतृत्वले झै नै फेक न्युजलाई अमेरिकी जनताको शत्रु करार गरिदिएर अमेरिकी सञ्चार जगत्लाई तर्साउन खोजे । यसअघि रिचार्ड निक्सनले पत्रकारलाई आफ्नो शत्रुको सूचीमा राखेका थिए ।

आगामी मंगलबार अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदै छ । ट्रम्प र डेमोक्रेट्स उम्मेदवार बाइडेनबीच बलियो प्रतिस्पर्धा छ । धेरै मतसर्वेक्षणले बाइडेनले चुनाव जित्ने सम्भावना देखाएका छन् । ट्रम्पविरुद्धको लिबरल मिडियाको पूर्वाग्रह घटेको छैन । यसपटक चार वर्षअघिको न्युजविकको आवरण अंकको प्रकरण त घट्नेछैन ? कि चुनावी परिणाम अप्रत्याशित हुन्छ भनेर मिडियाले पाठ सिकिसके ? यसको परिणाम दुई दिनपछि नै देखिनेछ । 

सुझावित समाचार