बन्दाबन्दीको लामो समयसम्म ग्रिन जोन भनिएको पूर्वी पहाडी जिल्ला दोलखामा पछिल्लो समय कोरोना संक्रमित तीव्र रूपले बढेका छन् । चाडपर्वमा सावधानी नअपनाउँदा संक्रमित बढेका हुन् । गत सातादेखि चरिकोटसहित आसपासका बजार क्षेत्रमा कोभिड– १९ को जोखिम बढेको अधिकारीहरूले बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकृत वासुदेव अधिकारीले कात्तिक पहिलो सातादेखि अहिलेसम्म ६१ जनाको रिपोर्ट पोजेटिभ आएको बताए । तीमध्ये सक्रिय लक्षणसहितका संक्रमितको अस्पतालमा उपचार चलिरहेको छ । सामान्य लक्षण रहेकाहरू होम आइसोलेसनमा बसेको सूचना अधिकृत अधिकारीले जानकारी दिए ।
६१ मध्ये झन्डै ८० प्रतिशत संक्रमित चरिकोट बजार क्षेत्रका छन् । सूचना अधिकृत अधिकारीले शुक्रबार नौजनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । चरिकोट बजारका एउटै परिवारका आठजनासम्मलाई संक्रमण देखिएको छ । सावधानी अपनाउँदा–अपनाउँदै पनि आफू र आफ्नो परिवारका आठजना सदस्यलाई संक्रमण देखिएको दोलखा कांग्रेसका सचिव सन्तोष रिमालले बताए । उनले लक्षण नदेखिएकाले आफूहरू घरमै बसेको जनाए ।
यसैबीच, भीमेश्वर नगरपालिकाले अत्यावश्यक कामका लागि मात्र कार्यालय आउन नगरवासीमा अनुरोध गरेको छ । नगरपालिकाकै केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि यस्तो अनुरोध आएको हो । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले अनावश्यक भिडका कारण संक्रमण फैलिने भएकाले त्यस्तो अनुरोध गरिएको बताए ।