ताइवानमा पछिल्लो करिब सात महिनादेखि आन्तरिक रूपमा कोरोना संक्रमण सरेको एउटा पनि बिरामी फेला परेको छैन ।
दुई करोड तीस लाख जनसंख्या भएको ताइवानमा पाँच सय ५० जना मात्रै संक्रमित भेटिए । काेराेना संक्रमणबाट अहिलेसम्म सातजनाको मात्रै मृत्यु भएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि सफल देशको रूपमा ताइवानलाई लिन थालिएको छ । ताइवानमा सबैभन्दा पछिल्लो संक्रमित गत अप्रिलको १२ तारिखका दिन भेटिएको थियाे ।
चिकित्सासम्बन्धी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दाबी गरेका छन् ।
प्रतिवेदनहरूका अनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक वृद्धि गर्ने थोरै देशहरूको सूचीमा पनि रहेको छ ।
महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरूलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएकाले संक्रमण फैलिन नपाएको उनको भनाइ छ ।
यस्तो व्यवस्था जनवरीमै लागू गरिएको थियो । साथै ताइवानले सुरुदेखि नै सीमानाकामा पनि कडाइ गरेको थियो ।
ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरूको ट्रेकिङ गरिएको र शंका लागेका व्यक्तिहरूलाई कम्तीमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको छ ।
तस्बिर : एटलान्टिक डटओआरजीबाट