कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण भएको छ ।
प्रतिष्ठानका पदाधिकारी रजिष्ट्रार विश्वराज काफ्ले, शिक्षाध्यक्ष डा. निरेश थापालाई कोरोना संक्रमण भएको हो ।
त्यसैगरी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू सूर्यमान लिम्बू, धीरेन्द्र काफ्ले, अनुप मंगल समाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमणको लक्षण देखिएपछि बिहीबार प्रतिष्ठानकै ल्याबमा कोरोना परीक्षण गर्दा पुष्टि भएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार काफ्लेका अनुसार दुई दिनअघिदेखि ज्वरो आउने र शरीर दुख्ने भएको थियो ।
बिहीबार पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पजिटिभ आएको हो ।
उनले कोभिडबाट बच्न सकेसम्म सजगता अपनाउँदाअपनाउँदै पनि संक्रमण देखिन पुगेको बताए ।
१० हजारभन्दा बढीको पिसिआर परीक्षण
बिहीबारसम्म जुम्लामा सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यससँगै अहिलेसम्म संक्रमित हुनेको संख्या तीन सय ३७ पुगेको छ ।
उनीहरूमध्ये दुई सय ९३ जना निको भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।
अहिले सक्रिय संक्रमितमध्ये चारजना संस्थागत आइसोलेसनमा र ४० जना होम आइसोलेसनमा रहेको उनले बताए ।
लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना तथा मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना आएका छन् ।
उनीहरूसहित अहिलेसम्म १० हजार आठ सय १३ जनाको कोरोना परीक्षण गरिएको छ ।