बाग्लुङका कोरोना संक्रमितको पोखरामा मृत्यु, गण्डकीमा थप ९८ जनामा कोरोना संक्रमण

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाग्लुङ गलकोट घर भएका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड– १९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । 

उनको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको आइसियूमा राखेर उपचार भइरहेको थियो । 

उनीसँगै गण्डकीमा ज्यान गुमाउनेको संख्या ७३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।  

त्यस्तै प्रदेशमा शुक्रबार थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पोखराका ६० जना, नवलपुरका २२, तनहुँका आठ,स्याङ्जाका तीन, लमजुङका दुई, गोरखाका दुई र पर्वतका एकजना संक्रमित थपिएको  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या सात हजार एक सय ४५ पुगेको छ ।
 

सुझावित समाचार