राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चारजना कोरोनाबाट संक्रमित भएको जनाएको छ । 

कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बंगलादेशसितको मैत्रीपूर्ण खेलका लागि बुधबारदेखि प्रशिक्षण सुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए ।

नेपालले बंगलादेशसित ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मंसिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ । 

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड  ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई अनुमति दिएको हो । नेपालले बालगोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको छ ।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो

सुझावित समाचार