कोरोना कहर : दोस्रोपटक शून्यमा झरेको जुम्लामा कोरोना ग्राफ फेरि बढ्यो

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा संक्रमण राेकथाका लागि निर्धारित जनस्वास्थ्यकाे मापदण्ड पालना नगर्दा संक्रमण फेरि बढ्दै गएको छ । 

यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिहरूमा समेत कोरोना संक्रमण देखिन थालेको छ । 

१२ साउनमा जिल्ला पहिलोपटक कोरोना संक्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै संक्रमित निको भएपछि दोस्रोपटक पुनः संक्रमण शून्य भएको थियो ।   

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको जस्तै व्यवहार गरिएकाले जोखिम उच्च हुन थालेकाे बताए । उनले संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञा लगाउँदा आलोचना खेप्नुपरेको बताए । 

गएको चैतयता जुम्लामा संक्रमित हुनेको संख्या तीन सय ३० पुगेको छ । बुधबारसम्म ४८ जना सक्रिय संक्रमित रहेका छन् । 

यहाँका आठवटा स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

सदरमुकाम रहेकाे चन्दननाथ नगरपालिकामा रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसमेत सक्रमित भइरहेका छन् । 

दुई सय ८२ जना निको भएर घर फर्किसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । 

उनका अनुसार सक्रिय संक्रमित पाँचजना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा रहेका छन् । 

गएको चैत महिनादेखि यता यहाँका १० हजार सात सय ९२ जनाको आरटी पिसिआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना र मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रवेश गरेको प्रशासनको तथ्यांक छ । 

आइसियू १० बेड
यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसियू १० बेड मात्र रहेको छ । 

प्रतिष्ठानमै अन्य साधारण आइसोलेसन बेड भने एक २० रहेको जनाएको छ । 

त्यसैगरी यहाँका आठ स्थानीय तह र नेपाली सेनाका ब्यारेकमा १५ देखि ५० बेडसम्म गरी जुम्लामा जम्मा चार सय ४५ बेडका आइसोलेसन सेन्टरहरू रहेको स्थानीय प्रशासनले जनाएको छ । 

थप आइसियू र भेन्टिलेटर कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

सुझावित समाचार