कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्पेनमा देशव्यापी रात्रिकालिन कर्फ्यु लागू गरिएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्जेले कर्फ्यु राति ११ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने बताए ।
यस कर्फ्यु नियमअनुसार स्थानीय निकायले एउटा क्षेत्रबाट अर्काे क्षेत्रमा हुने आवतजावत वा यात्रालाई रोक्न सक्ने बिबिसीले जनाएको छ ।
प्रधानमन्त्री स्यान्जेले सुरुवाती अवस्थामा १५ दिनका लागि लगाइएको यस नियम लम्ब्याउनेबारे संसदमा छलफल गरी निर्णय लिइने बताए ।
यस वर्षको सुरुमा स्पेनमा आएको कोरोनाको पहिलो तरंगबाट यस देश नराम्रोसँग प्रभावित भएको थियो । र, नियन्त्रणका लागि लकडाउनदेखि अन्य विभिन्न प्रकारका उपाय अवलम्बन गरिएको थियो ।
अहिले धेरै युरोपेली देश कोरोनाको दोस्रो संक्रमण फैलावटसँग जुधिरहेका छन् । इटलीमा पनि आइतबारबाट केही नियन्त्रण लागू गरिएको बिबिसीले जनाएको छ ।