युरोपमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण दर फेरि बढ्न थालेको छ । यसकारण कोरोनाको पहिलो लहरमा युरोपले गरेको गल्ती नदोहो¥याउने संकल्पसहित संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रोटोकल लागू भएको छ । केही सातायता युरोपमा कोरोना संक्रमित निरन्तर बढिरहँदा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले समेत चिन्ता जनाइरहेको छ ।
इटालीमा आइतबार ११ हजार सात सय पाँच तथा शनिबार १० हजार नौ सय २५ व्यक्ति संक्रमित भए । दोस्रो लहरमा इटालीमा यसरी एकैदिन १० हजार संक्रमित फेला परेको पहिलोपटक हो । इटालीमा कुल चार लाख १४ हजार दुई सय ४१ व्यक्तिमा कोरोना संक्रमण भएको छ । जसमध्ये ३५ हजार पाँच सय ४३ जनाले ज्यान गुमाएका छन् । दुई लाख ५१ हजार चार सय ६१ व्यक्ति निको भएर घर फर्किएका छन् ।
कोरोनाको पहिलो लहरमा धेरै संक्रमित व्यक्तिको निधन भएको राष्ट्र इटली थियोे । इटलीले कोरोनाको पहिलो लहरलाई हल्का रूपमा लिँदा गम्भीर दुर्घटना भएको मानेको छ । इटलीले धेरैपछि मात्र लकडाउन घोषणा गरेको थियो । पुरोनो गल्ती सच्याउँदै दोस्रो चरणमा इटलीले व्यापक सुधार गरेको छ । भयावह स्थितिमा पुगेको इटालीले कोभिड–१९ माथि लगभग नियन्त्रण लिएको छ ।
लगातार दुई दिन इटालीमा संक्रमित संख्या बढ्न थालेपछि प्रधानमन्त्री जिसेप्पे कोन्टेले नयाँ नियम लागू भएको घोषणा गरेका छन् । उनले लकडाउन नै घोषणा नगरे पनि नयाँ प्रोटोकल लगभग लकडाउन जस्तै भएको बताए । सर्वसाधारणको भिड हुने स्थानमा उनले नियम पुनरावलोकन गरेका छन् । रातको नौ बजेपछि सर्वसाधारणलाई सार्वजनिक स्थलमा हिँडडुल नगर्न भनिएको छ ।
साँझको समयमा बढी भिडभाड हुने स्थल रेस्टुराँ हो । प्रधानमन्त्री कोन्टेले त्यस्ता भिड हुने स्थान आवश्यकताअनुसार बन्द गर्न प्रशासनलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कोन्टेले आइतबार सरकारी टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै लगातार दुई दिन संक्रमित बढेपछि अब समय खेर नफाल्ने बताए । प्रधानमन्त्री कोन्टेले भने, ‘हामीले अब समय खेर फाल्न मिल्दैन, तत्काल बढी संक्रमित भएको स्थान पत्ता लगाउनुपर्छ, त्यस्ता स्थानमा सामान्य लकडाउन घोषणा गर्नुपर्छ ।’ सरकारले दायित्व निर्वाह गरिरहेको पनि सर्वसाधारणले आ–आफना स्थानबाट कोरोना भाइरस रोक्न सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अनिवार्यमा रूपमा मास्क लगाऔँ, सामाजिक दूरी कायम गरौँ, एक–अर्काबीच अंकमाल गर्ने काम बन्द गरौँ र सकेसम्म भिडभाड स्थानबाट टाढा रहौँ ।’ उनका अनुसार निम्न तथा हाइस्कुल खोल्ने समय पनि परिवर्तन हुनेछ ।
साँझ ६ बजेपछि रेस्टुरेन्ट बन्द
स्कुल र कलेजका विद्यार्थीले पहिलाभन्दा बढी दूरी कायम गर्नुपर्नेछ । सरकारले बार र रेस्टुरेन्ट साँझको ६ बजे नै बन्द गर्ने निर्णय गरेको छ । बार खोल्दा कम्तीमा ६ जनासम्मको एक समूह बनाउन अनुमित दिएको छ । यसैगरी लोकल कन्फ्रेन्स तथा मेला पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । सरकारले सिरिए लिग सुचारु गरे पनि एमेच्योरतर्फका सबै खेलकुद रोकेको छ । यसैगरी जिमखान तथा स्विमिङ पुलले छिटै नै नयाँ प्रोटोकल पाउने कोन्टेले जनाए ।
इटलीसहित अन्य युरोपेली राष्ट्रले पनि नयाँ प्रोटोकल लागू गरेका छन् । फ्रान्समा शनिबार मात्र ३२ हजार चार सय २८ व्यक्ति संक्रमित भए । गत मार्चमा भन्दा पनि अक्टोबरमा देखिएको संक्रमित संख्या डरलाग्दो भएको डब्ल्युएचओले जनाएको छ ।
फ्रान्स : फ्रान्सले संक्रमित संख्या बढ्न नदिन तत्कालै राजधानी पेरिसमा रातको ९ बजेदेखि बिहानको ६ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । यो एक महिनासम्म जारी नै रहने प्रशासनले जनाएको छ । कफ्र्युमा कोही पनि बाहिर निस्किएर नियम उल्लंघन गरे कारबाहीस्वरूप एक सय ३५ पाउन्ड जरिवाना लाग्नेछ ।
बेल्जियम : बेल्जियमले सबै बार र रेस्टुरेन्ट एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ । रातको ८ बजेपछि पूर्ण रूपले अल्कोहल प्रतिबन्ध लगाएको छ । रातको १२ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु जारी गरेको छ । ‘हामी निकै चिन्तित छौँ, जुन रूपमा संक्रमित बढिरहेका छन्, यसले धेरै गाह्रो बनाउने देखिन्छ,’ बेल्जियमका प्रधानमन्त्री एलेसान्डर डे क्रुले भने, ‘आउने साता झनै डरलाग्दो हुन सक्छ, अहिलेदेखि नै सबै सावधानी अपनाउनुपर्ने देखिन्छ ।’
स्विजरल्यान्ड : स्विजरल्यान्डमा सोमबारदेखि सार्वजनिक स्थलमा १५ जनाभन्दा बढी बस्न नपाउने भएको छ । यसैगरी पब्लिक स्थानमा सामाजिक दूरी अनिवार्य गरेको छ ।
चेक रिपब्लिक : चेक रिपब्लिक सरकारले भने सोमबार रातिसम्म कति संक्रमित हुन्छन् सोहीअनुसार निर्णय गर्ने जनाएको छ । यदि संक्रमित बढ्यो भने चेक रिपब्लिकमा देशभर पुनः लकडाउन हुनेछ ।
जर्मनी : दिनहुँ कोरोना संक्रमित बढेपछि जर्मन चान्सलर एन्जेला मर्केलले एउटा विशेष नोटिस जारी गरेकी छिन् । मर्केलले आफ्ना नागरिकलाई घरमै बस्न र सकेसम्म घुमफिरमा नजान आग्रह गरेकी छिन् । ‘अहिले देशको अवस्था राम्रो छैन, यसकारण तपाईंहरू घरनै सुरक्षित हुनेछ, यो वेला लामो दूरीको यात्रा जोखिमपूर्ण छ, त्यस्ता स्थान जाने तयारी गरेको भए रद्द गर्नुहोस्,’ उनले भनिन् ।
स्पेन : स्पेनले विभिन्न राज्यमा संकटकाल घोषणा गरिसकेको छ । म्याड्रिडको नजिक रहेका सहरमा कम्तीमा १५ दिन संकटकाल जारी रहनेछ । यो समयमा कोही पनि म्याड्रिडबाट बाहिर जान नपाउने र प्रवेश पनि नपाउने नियम लागू भएको छ । यसैबीच म्याड्रिडमा स्कुल खुला नै रहनेछ । होटेल तथा रेस्टुरेन्ट राति ११ बजे बन्द गर्नुपर्नेछ ।
पोर्चुगल : पोर्चुगलले राति ११ बजेपछि भिडभाड नगर्न सूचना जारी गरेको छ । पहिला १० जनासम्मको समूह बनाएर बस्न मिल्ने भनिएको थियो । अब केवल पाँचजनासम्म मात्रै फेला हुन पाउनेछन् । विवाह र अन्य उत्सवमा ५० जनाभन्दा बढी संलग्न हुन सक्ने छैनन् ।