प्रदेश २ मा कोरोनामुक्त हुने १२ हजार नाघे

शनिबार, १ कार्तिक, २०७७
डिजिटल संस्करण

प्रदेश २ मा कोभिड– १९ संक्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कुल संक्रमण पुष्टि भएका १४ हजार ६ सय २० मध्ये संक्रमणमुक्त हुने १२ हजार दुई सय ७२ पुगेको प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।     

प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६ सय २० मा संक्रमण पुष्टि भएको छ । यीमध्ये १२ हजार दुई सय ७२ निको भएर नियमित काममा फर्केको निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए । 

यो प्रदेशमा कोभिड– १९ महामारीले एक सय ५९ जनाको ज्यान गएको छ । संक्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एक हजार ६ सय ८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ ।     

गत चैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड– १९ पुष्टि भएसँगै क्रमशः त्यसयताका महिनामा संक्रमण बढ्दै गएको हो । चैतदेखि भर्खरै बितेको असोजसम्मको संक्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा संक्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ । 

भदौमा मात्रै पाँच हजारभन्दा माथि संक्रमण पुष्टि भएको थियो । भदौमा कोरोना संक्रमणले मर्नेको संख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताउँछन् । महामारीले वैशाखमा ९२, जेठमा एक हजार नाै सय १९, असारमा एक हजार आठ सय ९७ र साउनमा तीन हजार ५४ जनामा संक्रमण पुष्टि भएको  थियाे । त्यसैगरी असोजमा दुई हजारमाथि संक्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयले जनाएकाे छ । 

See More On

सुझावित समाचार