कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका– १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना संक्रमण  देखिएको थियो । 

शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यअवस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोतव्यक्ति श्रेष्ठले बताए ।  

आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । बाँकेमा योसहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको संख्या १३ पुगेको छ । बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ । रासस

सुझावित समाचार