जिल्लामा एकैदिन थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कोरोना परीक्षणमा अहिलेसम्मकै सबैभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा १४ जना नेपाल प्रहरी, २० जना नेपाली सेना छन् । यसका साथै काठेखोला गाउँपालिका– ६ का दुई, तमानखोला गाउँपालिकाका ६, बाग्लुङ नगरपालिका– ४ का एक पुरुष र अन्य आठजनामा कन्ट्याक्ट ट्रेसिङबाट परीक्षण गर्दा पजिटिभ देखिएकाे हाे । संक्रमितमध्ये अधिकांश पुरुष र १० देखि ५५ वर्ष उमेर समूहका छन् ।
बिहीबार मात्र गण्डकी प्रदेशमा थप ९७ जनालाई कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिए ।
योसँगै जिल्लामा संक्रमितको संख्या पाँच सय ८५ पुगेको छ भने तीन सय ८८ जना निको भएर घर फर्किएका छन् । कोरोनाकै कारण बुधबार मात्र एक ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै बाग्लुङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।