धनकुटा नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका नगरपालिकाले प्रवाह गर्ने सेवा ६ कात्तिकसम्मका लागि बन्द गरिएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष र एक महिला कर्मचारीसहित उच्च अदालत विराटनगर धनकुटा इजलासमा कार्यरत एक कर्मचारीमा कोरोना पजिटिभ देखिएको थियो ।
त्यसपछि यसको संक्रमणलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा बुधबार (आज) देखि ६ कात्तिकसम्मका लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।
बैठकले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने, सम्पूर्ण कर्मचारी कार्यालय प्रमुखको सम्पर्कमा रहने, बोलाएको वेला उपस्थित हुने, अनलाइनबाट पनि सेवा प्रवाह गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
कोरोनाको संक्रमण फैलिन नदिनका लागि भिडभाडमा नजाने, बैठक, गोष्ठी नगर्ने, घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न नगरपालिकाले नगरवासीलाई आग्रहसमेत गरेको छ ।
यो अवधिमा नगरपालिकाले प्रवाह गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरू, सहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपत् व्यवस्थापनलगायतका कार्यहरू सुचारु हुने नगर प्रमुख तामाङले बताए ।
योसँगै धनकुटामा संक्रमितको संख्या ६३ पुगेको छ । तीमध्ये ४५ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने एकजनाको निधन भएको छ ।