दैलेखको नारायण नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि एक हप्ताका लागि नगरपालिका सिल गरिएको छ । नारायण नगरपालिका र नगरभित्रका ११ वटै वडाका काम एक सातासम्म बन्द हुने भन्दै नगरपालिकाले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झनै समस्या हुने भन्दै नगरका सबै काम बन्द गरिएको छ । स्थानीय बासिन्दालाई सुरक्षा सतर्कता अपनाउन सुझाब दिइएको छ ।
सदरमुकाममा एकैदिन २३ जनामा कोरोना संक्रमण, डाक्टरसमेत संक्रमित
सदरमुकामभित्रै एकैदिन २३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डाक्टरलाई पनि कोरोना संक्रमण देखिएको छ । नगरपालिकाभित्रै बसोवास गर्ने, व्यापारी, विभिन्न बैंकका कर्मचारी र नारायण नगरपालिकाका कर्मचारीमा संक्रमण देखिएको हो ।
संक्रमितहरूको संख्या एकाएक बढे पनि सुरक्षा सतर्कता भने शून्य छ । सदरमुकाम दैलेख बजारमा दिनहुँ हजारौँको ओहोरदोहोर हुने गरेको छ । न सामाजिक दूरी कायम छ न त मास्क नै प्रयोग गरिएको छ । यस्तो लापरबाहीले अवस्था झनै जटिल बन्दै जाने संकेत गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए ।
दैलेखमा हालसम्म एक हजार एक सय ७९ जनामा कोरोना संक्रमण देखिएकामध्ये ७० जना विभिन्न आइसाेलेसन र होम आइसाेलेसनमा रहेका छन् । बाँकी सन्चो भएर घर फर्किसकेका छन् । हालसम्म यस जिल्लामा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या चार पुगेको छ ।
सदरमुकामका सबै घरबाट एकजनाको अनिवार्य परीक्षण गर्न सुझाब
दैलेख सदरमुकामभित्र अहिले दैनिक हजारौँ मानिस किनमेलका लागि आवतजावत गरिरहेका छन् । लामो समयदेखि बन्द भएका व्यापार–व्यवसाय सञ्चालनमा आएपछि भिडभाड बढेसँगै कोरोना संक्रमणको दर तीव्र बनेको छ ।
नगरपालिकाभित्र रहेका हरेक घर र पसलबाट एकजनालाई अनिवार्य रूपमा कोरोना परीक्षण नगराए अवस्था झन् जटिल बन्दै जाने भन्दै परीक्षणको दायरा बढाउन स्थानीयले सुझाब दिएका छन् ।