गौरीफन्टा सीमा क्षेत्रमा नागरिक सहायता कक्ष स्थापना

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

नेपाल–भारत सीमानाकामा संयुक्त नागरिक सहायता कक्ष स्थापना भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ डोकेबजारमा संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो । 

दसैँ–तिहारका वेला समस्यामा परेका दुवै देशका नागरिकको उद्धारका लागि सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरिएको हो ।

मंगलबार पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले संयुक्त नागरिक सहायता कक्षको उद्घाटन गर्दै चाडबाडका वेला सीमा क्षेत्रमा हुने घटना रोक्नुका साथै आपतविपतमा परेका दुवै देशका नागरिकको उद्धारमा जुट्न संयुक्त प्रयास आवश्यक रहेको औँल्याए ।

‘अहिले कोरोना महामारी पनि छ, सीमा क्षेत्रमा जोखिम पनि बढेको छ,’ मेयर थापाले भने, ‘यसैवेला दुवै देशका सुरक्षा निकायले जो जुन देशको नागरिक भए पनि सहयोग गर्नुपर्छ ।’ 

हेल्प डेस्क स्थापनासँगै डोकेबजार क्षेत्रमा ५० लाख लागतमा होल्डिङ सेन्टर स्थापना गरिने मेयर थापाले बताए । 

हेल्प डेस्कमा नेपालतर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट एसएसबीले संयुक्त ड्युटी गर्नेछन् । 

दसैँ, दीपावली र छठसम्म संयुक्त नागरिक सहायता कक्ष सञ्चालन हुनेछ ।

सुझावित समाचार