सम्पादकीय : सोमबहादुर एक बिम्ब

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

झोलामा टेकुस्थित सरकारी अस्पतालले दिएको कोराना पोजेटिभ भएको प्रमाणपत्र । सुन्निएका रसिला आँखा । भोकसँगै थपिएको रोग, गन्तव्य र लक्ष्य अनिश्चित अर्थात् सोमबहादुर लामा । निजगढ नगरपालिका घर भएका नेपाली नागरिक । घरमा श्रीमती छिन् उनको बाटो हेरिरहेकी । बाटो के भन्नु उनीसँग आउने अपेक्षा गरिएको थोरै मजदुरीबाट जम्मा भएको रकम । त्यसैबाट तिर्नु थियो, दुई महिनायता बाँच्नका लागि गरिएको समान्य किनमेलको बाँकी र केही ऋण । त्यसैबाट मनाउनु थियो दसैँ अनि तिहार । त्यसैबाट हुनु थियो समृद्ध र सुखी नेपाली । यता सोमबहादुर आफ्नै जीवन भरेसम्म बाँच्छ कि बाँच्दैन भन्ने द्विविधामा काठमाडौंको सडकमा दिउँसोको तातो घाममा ज्वरोले रन्केको शरीर शिथिल भएर पेटीमै बसिरहेका छन् । तर, सरकारको तथ्यांकमा सोमबहादुर होम आइसोलेसनमा छन् । 

सरकारले दिनदिनै भन्ने गरेको छ, कोरोना हुने आइसोलेसनमा बस । तातो र पोषिलो खाऊ । अरूलाई नछोऊ । अक्सिजनको मात्रा घटे–नघटेको छिनछिनमा चेक गर । बसेको ठाउँमा भेन्टिलेटर हुनुपर्छ । बाहिर निस्केर सडकतिर हिँडेको भेटिएमा ६ महिना कैद जानुपर्ला, सतर्क होऊ । सोमबहादुर भने बाँचिरहेका छन्, भोकमरीमा पर्न लागेकालाई खाना खुवाउने दाताको दयामा । उनी चाहन्थे काम पाइयोस्, ज्याला पाइयोस् र थोरै सञ्चित गरेर घरसम्म जान पाइयोस् । पहिले लकडाउनले घरतिर लखेट्दा उनी सरकारको आदेश मान्न सक्ने हैसियतमा थिए, अहिले त्यो तागत र हैसियत पनि उनीबाट खोसिएको छ । कोरोनाले थिल्थिलो भएको गरिबको अर्थतन्त्रमा झन्–झन् विपत्तिले च्याप्दै लगेको छ र यतिवेला अन्तिम सहारा बन्नुपर्ने सरकारले पनि गरिब जनतातिर पिठ्युँ फर्काएको छ । 

कोरोनाले थिल्थिलो भएको गरिबको अर्थतन्त्रमा झन्–झन् विपत्तिले च्याप्दै लगेको छ र यतिवेला अन्तिम सहारा बन्नुपर्ने सरकारले पनि गरिब जनतातिर पिठ्युँ फर्काएको छ ।

सोमबहादुर लामा नेपालमा कोरोनाले जीवनका आशा खोसिएका लाखाैँ नागरिकका एक प्रतिनिधि पात्र हुन् । एउटा अनुमानअनुसार नेपालमा थप ४ प्रतिशत मानिस गरिबीमा धकेलिएका छन् । यसै पनि सरकारको तथ्यांकले १८ प्रतिशत नेपालीलाई निरपेक्ष गरिब मानेको छ । त्यसलाई आधार मान्दा अहिले नै २२ प्रतिशत मानिस यस्तो गरिबीमा छन्, जसले दैनिक ज्यालादारी गरेर पेट भर्नुपर्छ । सडकमा गरिने सामान्य व्यापारले धानिनुपर्छ । या सानो–सानो कारोबारले आयस्ता गरेर टिक्नुपर्छ । तर, अर्थतन्त्रमा यतिवेला नराम्रो गिरावट आएको छ र यस्ता काममा संलग्न परिवारले आयस्ता गुमाइरहेका छन् । कोरोनाका कारण सरकारका विकासे परियोजनाले पूर्ण क्षमतामा काम गर्न सकेका छैनन् । 

निजी क्षेत्रको निर्माणको काम पनि धेरै हदसम्म घटेको छ र सडकमा मानिसको ओहोरदोहोर कम हुँदा साना व्यवसाय चल्न छाडेका छन् । यसले नयाँ–नयाँ सोमबहादुरहरूलाई सडकमा धकेलिरहेको छ । कोही भाडा तिर्न नसकी घरबेटीबाट निकालिएर सडकमा पुगेका छन् । कसैले कुनै आम्दानीको स्रोत नभएर एकपेट खानैका लागि भौंतारिनुपरिरहेको छ । यस्तो वेला कमसेकम सरकारले मानिसलाई न्यूनतम जीवन निर्वाहका लागि आवश्यक पर्ने खर्च नगदमा नै दिनुपर्ने हो । गरिबको लगत राख्ने र तिनलाई राहत दिने गरिएको भए सोमबहादुर यसरी कोरोनाको सुपर स्पे्रेडरझैँ बनेर सडकमा सरकारको आदेश अवज्ञा गर्ने अवस्थामा धकेलिने थिएनन् । यसअघिका अर्थमन्त्रीले जनताको यो बाध्यतालाई डार्विनको सिद्धान्तको हिल्ला लागाइदिएका थिए । 

अहिले एक महिनादेखि अर्थमन्त्रीसमेत छैनन् । प्रधानमन्त्री आफ्नो रोगी शरीरको रक्षार्थ सुरक्षा प्रोटोकल अपनाउन र सत्ताको आयु थप्न दिनरात तपस्यारत छन् । आमजनतालाई हाच्छ्यिुँ गर्न र हिमालको चिसो हावाले दिने प्राणवायुको भर पर्न अर्ती दिएर बालुवाटार पसेका प्रधानमन्त्रीबाट सोमबहादुरहरूले आशा र अपेक्षा गर्न मिल्ने कुरा पनि भएन । सोमबहादुरहरूको बिम्ब जहिलेसम्म सरकारको नीति र निर्णयमा देखिन्न, तहिलेसम्म कोरोना सकिए पनि नीतिगत महामारीले यो गरिखाने समूहलाई थप गरिबीमा धकेलिरहनेछ ।

सम्पादकको रोजाइ

सुझावित समाचार