कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर २२ जनाको मृत्यु भएको छ । जसमा १७ जना ६० वर्षभन्दा माथिका वृद्धवृद्धा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार अहिलेसम्मकै सबैभन्दा बढीको ज्यान गएको छ । मृत्यु भएका २२ जनामध्ये १७ जना वृद्धवृद्धा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
आइतबार मृत्यु हुनेहरूमा काठमाडौंका पाँच, चितवनका चार, रूपन्देहीका तीन, भक्तपुर र सुनसरीका दुई–दुई, धनकुटा, सर्लाही, ललितपुर, नुवाकोट, मकवानपुर र सिन्धुपाल्चोकका एक–एकजना छन् । अहिलेसम्म ज्यान गुमाएकामध्ये पनि धेरैजसो ६० वर्षभन्दा माथिका रहेको प्रवक्ता डा. गौतमले बताए । विश्व स्वास्थ्य संगठनले पनि वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती महिलालाई कोरोनाको उच्च जोखिममा राखेको छ ।
त्यस्तै, आइतबार देशभर दुई हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या एक लाख सात हजार सात सय ५५ पुगेको छ । उनीहरूमध्ये ७५ हजार आठ सय चारजना निको भएका छन् । अहिले देशभर ३१ हजार तीन सय १५ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये १७ हजार ६ सय ६६ जना घरमा र १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा बसिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या बढेसँगै आइसियूमा उपचार गर्नुपर्ने बिरामीको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा तीन सय २९ जना आइसियू र ७६ जना भेन्टिलेटरमा राखिएका छन् । उपत्यकामा मात्रै एक सय ५४ जनालाई आइसियू र ५० जनालाई भेन्टिलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरूमध्ये सरकारी अस्पतालको आइसियूमा ८८ र भेन्टिलेटरमा २० जना तथा निजी अस्पतालको आइसियूमा ६६ र भेन्टिलेटरमा ३० जना छन् । अब उपत्यकामा एक सय ९५ जनालाई आइसियूमा र ८८ जनालाई भेन्टिलेटरमा राख्न सक्ने क्षमता रहेको छ ।