बाग्लुङ सदरमुकाम क्षेत्रमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरेको छ ।
बजार क्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पहिचान भएपछि सावधानीका लागि सोमबारदेखि अनिश्चितकालका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए ।
नगर क्षेत्रमा कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको हुँदा बढ्दो कोरोना जोखिमलाई ध्यानमा राखेर कार्यालयबाट प्रवाह हुने सेवा तथा कार्यक्रम सञ्चालन स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए ।
नगरपालिकाले घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क स्यानिटाइजरको प्रयोग गरी भौतिक दूरीको मापदण्ड गर्न अनुरोध गर्दै अत्यावश्यकबाहेकको कामले नगरपालिका कार्यालय प्रवेश नगर्न आग्रह गरिएको छ ।
नगरका १४ वटै वडा कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
‘जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा समेत कोरोना फैलिँदै गएको छ । संक्रमण समुदायस्तरमा पुगेको हुँदा सजक हुनुपर्ने अवस्था छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले भने, ‘चाडपर्वले भिडभाड बढेको छ, सावधानी अपनाउन सकिएन भने अवस्था नियन्त्रण बाहिर जान्छ ।’
जिल्लामा कुल आठ हजार सात सय २२ जनाको कोरोना परीक्षण गर्दा पाँच सय २५ जनालाई संक्रमण भएको थियो ।
तीमध्ये तीन सय ६७ जना निको भएका छन् भने एकजनाको निधन भएको थियो ।
गोरखाको पालुङटार नगरपालिकाको सेवा बन्द
गोरखाको पालुङटार नगरपालिकाले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको छ ।
नगर कार्यपालिकाको आइतबार बसेको बैठकले २५ गते देखि कात्तिक १ गतेसम्म लागू हुने गरी नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत तेजराम शर्माले बताए ।
कोरोना भाइरस संक्रमणको जोखिम उच्च बढिरहेको र छिमेकी जिल्लालगायतका आसपासका स्थानीय तह र यस पालुङटार नगरपालिकाकाभित्रका कर्मचारीहरूमा समेत संक्रमित देखिएको हुँदा उक्त जोखिमलाई न्यूनीकरण गर्न अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको शर्माले जानकारी दिए ।
उनका अनुसार आइतबार पालुङटार नगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिको उक्त निर्णय गरेको हो ।
त्यस्तै नगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरू पठनपाठनसमेत स्थगित गरेकोे बताएको छ ।
नगरपालिकाभित्रका मूल सिकाइ केन्द्र र सहायक सिकाइ केन्द्रबाट सञ्चालन गर्दै आइरहेको सिकाइ सहजीकरण क्रियाकलापहरू कात्तिक ८ गतेसम्मका लागि बन्द गरेको नगरपालिकाले जनाएको छ ।