प्रहरीले अपराधीलाई तर्साउने हो, स्रष्टालाई होइन : निर्देशक दीपेन्द्र लामा

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

२२ असोजमा प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै चलचित्र, टेलिचलचित्र, सर्ट मुभिज, प्रयांक भिडियोज, सांगीतिक भिडियो, टिकटक भिडियोलगायतमा अनुमतिविना प्रहरीको पोसाक प्रयोग गरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो । कार्यालयका प्रवक्ता कुवेर कडायतद्वारा हस्ताक्षरित यस विज्ञप्तिलाई लिएर चलचित्रकर्मीले विरोध जनाएका छन् । यसै सन्दर्भमा चलचित्र निर्देशक दीपेन्द्र लामासँग नवीन प्यासीले गरेको कुराकानी :-

नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिलाई कसरी लिनुभएको छ ? 
खासमा प्रहरीको इमेज पब्लिकमा राम्रो छैन । सर्वेक्षण नै गर्ने हो भने पनि थोरै प्रतिशतले मात्र विश्वास छ भन्लान् । यो कुरा नेपाल प्रहरीलाई राम्रोसँग थाहा छ । डिआइजीले श्रीमती जलाएको, हिरासतमा पिटेर मान्छे मारेको, प्रहरीले नै बलात्कार गरेको समाचार आइरहन्छन् । यही इमेजमाथि चलचित्रकर्मीले प्रश्न गर्दा जनता भड्कन्छन् भन्ने डरले विज्ञप्ति जारी गरिएको हो । 
अर्को कुरा चलचित्र हेरेरै मान्छे भड्कन्छन् भन्ने प्रहरी प्रशासनको कमजोर बुझाइको उपज पनि हो । चलचित्र बन्न सुरु हुनुअघि पनि अपराध हुन्थे । तर, प्र्रहरी–प्रशासन चाहन्छ कि आफ्नो नकारात्मक कुरा बाहिर नआइदेओस् । यसैकारण चलचित्रकर्मीमाथि यस्तो चेतावनी दिइएको हो । 

भनिन्छ, संसारभरका ६० प्रतिशत मानिसको जीवनशैली चलचित्रले निर्धारण गरिदिन्छ । यो बुझेकाले पनि प्रहरी–प्रशासन त्रसित भएको हो कि ? 
प्रहरीको बर्दी लगाउँदैमा उसको मानहानि हुँदैन । कसैले जोकका रूपमा पत्रकार, नेताको हुलियामा देखिँदा मात्र त्यो समुदायलाई हानि पु¥याउने होइन । तर, कसरी देखियो भन्नेचाहिँ हो । साथै हेर्ने दर्शक पनि बेवकुफ छैनन् । उनीहरूको पनि विवेक छ । यो विज्ञप्ति त प्रहरीले दर्शकलाई नजरअन्दाज पनि गरेको हो । शासक निरंकुश हुने संकेत पनि हो यो । शासकले जहिल्यै प्र्रतीक, छाप निर्माण गरेर सत्ताका लागि प्रयोग गर्न खोज्छ । हिटलरले स्वस्तिक छाप देख्दैमा त्रसित हुने वातावरण बनाएका थिए । बर्दीलाई सम्मान गर्नुपर्छ भन्ने विज्ञप्ति शासकीय मानसिकता हो । 

गत वर्ष प्रहरीको असइको हुलियामा गाँजा माडिरहेको तस्बिरका कारण ¥यापर भिटेन समातियो । सेलेब्रिटीलाई सबैले हेरिरहेका हुन्छन् । सेलेब्रिटीको व्यवहार र प्रस्तुतिले आममानसिकतामा पर्ने असरलाई मध्यनजर पनि गर्न खोजेको हो कि नेपाल प्रहरीले ?
भिटेनको फ्यानहरूले फोटो हेर्नेबित्तिकै गएर पुलिसको चौकी जलाउने, ढुंगामुढा गर्ने ग¥यो त ? गरेन नि ! त्यो उसको अभिव्यक्ति स्वतन्त्रताको कुरा हो । उसको व्यक्तिगत अधिकारको कुरा हो । तर, त्यसलाई नियन्त्रण गर्न खोज्नुभएन । 

अनि प्रहरीलाई स्क्रिप्ट देखाउनुपर्ने विषयचाहिँ के हो ? 
अहिले पनि प्रहरीले स्क्रिप्ट माग्छ । त्यो पनि डाइलगसहितको । चलचित्र विकास बोर्डमा कथासार पठाए पुग्छ । डाइलगमा रातो साइनपेनले कोरेर सच्याउनु भन्छ । प्रहरीलाई गाली गरेको छ भने, बर्दी लगाएर चुरोट खाएको छ भने हुँदैन भन्छ । यो त पञ्चायतकालीन शासनजस्तो छ । 
गाउँघरका चौकीमै बसेर मार हानिरहेका हुन्छन् । तर, हामीले त्यस्तो दृश्य राखियो भने नराख्नु भन्छ । जुनियरलाई ‘तँ’ ‘तिमी’ भनिरहेका हुन्छन् । तर, ‘तपाईं’ राख्नुस् भन्छ । चलचित्र ‘दुई नम्बरी’को वेला संवादै सच्याउन लगाएको थियो । उनीहरू हाम्रो यस्तो छवि देखियोस् भन्छन् । तर, त्यो छवि देखियोस् भन्ने जिम्मा त चलचित्रकर्मीको होइन नि । प्रहरी आफैँले बनाउने हो । आफ्नो कामलाई सुधार्ने हो । हामीलाई सुधार्न खोज्ने होइन । 

भनेपछि तपाईंहरूमार्फत आफ्नो छवि निर्माण गर्ने कोसिस पो देखियो त ?
हामीले जस्तो देखाए पनि यथार्थ नै देखाउने हो । कन्क्लुजन त प्रहरी फटाहा हुनुहुँदैन भन्ने नै हो । प्रहरी भनेको शासक होइन, जनताको सेवक हो । त्यसकारण जनता प्रहरीप्रति होइन, प्रहरी जनताप्रति जवाफदेही हुने हो । जनताले प्रहरीमाथि प्रश्न उठाउन पाउनुपर्छ । प्रश्नै उठाउन नपाइने हो भने त दादागिरी भयो ।

तपाईंहरूको आशय प्रहरीको ड्रेस प्रयोग गर्न अनुमति लिन नपरोस् भन्ने पनि हो क्यार ? 
विकास बोर्डमा चलचित्र निर्माणका लागि इजाजत लिँदा तीनवटा बुँदा हुन्छन् । एक, चलचित्रमा कथाको मागअनुसार आर्मी तथा प्रहरीको नक्कली बर्दी, हातहतियार प्रयोग गर्न अनुमति दिइएको छ । अर्को, प्रहरीको नक्कली बर्दी र हातहतियार बाहिर दुरुपयोग भएमा निर्माता भागीदार हुनुपर्नेछ । तेस्रो, सार्वजनिक स्थलमा सुटिङअघि नजिकको प्रहरी चौकीमा जानकारी दिनुपर्नेछ । त्यति गरे समस्या समाधान भइसक्यो । अनि स्रष्टालाई करेक्सन गर्ने सेन्सर बोर्ड छ । त्यसकारण प्रहरीले नै स्क्रिप्ट चेक गर्न जरुरी छैन । 

यो समस्या नौलो होइन होला । विकास बोर्ड पहिलादेखि नै अवगत होला नि ?
बोर्ड पनि सरकारी निकाय हो । यसमा चलचित्रकर्मीको नेतृत्व छ, त्यो आफ्नो ठाउँमा छ । तर, बोर्डमा पनि शासकीय मनोविज्ञान छ । चलचित्र बनाउन दर्ता गर्नुपर्ने प्रावधान छ । तर, आफ्नै कम्पनी छ, चलचित्र बनाउन इजाजत लिएको छ, कर तिरेको छ भने त आफै बनाउन पाउनुप¥यो नि । सरकारी आँकडामा आउन चाहने हो भने बोर्डमा दर्ता गर्ने हो । तर, बोर्डमा शासकीय प्रवृत्ति छ । अनुमति लिनुपर्ने, कथासार बुझाउनुपर्ने । गीत पनि बुझाउनुपर्ने । गीत किन बुझाउने ? यही कारण बोर्ड पनि चलचित्रकर्मीलाई नियन्त्रण गर्ने निकाय हो । अभिव्यक्ति स्वतन्त्रताबारे बोर्डले सही वकालत गर्दैन । 

भनेपछि विकास बोर्ड सरकारकै अंग भएकाले चलचित्रकर्मीकै पक्षमा वकालत गर्छ भनेर शंका छ ? 
बोर्डसँग त हामी नै लड्नुपर्छ । बोर्डसँग कतिपय चलचित्रकर्मीलाई नपच्ने नियम होला । अवार्ड गर्दा पनि ठूला चलचित्रलाई मात्र दिन्छ । सर्ट फिल्म, डकुमेन्ट्रीलाई पनि दिनुपर्ने हो । हाम्र्रो वकालतलाई पर राखेर विकास बोर्डसँग त माग्नुपर्ने कुरा धेरै छ हामीले । 

केही वर्षअघि बोर्डले सबैभन्दा कान्छो निर्देशक भनेर सौगात विष्टलाई सम्मान ग¥यो । साथै अर्को कार्यक्रममा निर्देशक हुनका लागि तीनवटा चलचित्रमा असिस्टेन्ट गर्नुपर्नेलगायत सर्त लागू ग¥यो । यस्तो किन भएको हो ? 
विकास बोर्डमा जानेहरूको मानसिकता के भने नयाँ पुस्ता नआओस्, आयो भने आफ्नो भाग खोस्छ । त्यस्तै खालको डर भएको मान्छेको प्रभावमा परेर त्यस्तो अंकुश लगाएको हो । यो सरासर नयाँलाई रोक्न खोज्ने काम हो । यसले नयाँलाई मात्र होइन, नयाँ विषयवस्तु, विविधतालाई रोक्न खोजेको हो ।

प्रहरीको विज्ञप्तिलाई लिएर चलचित्रकर्मी आक्रोशित छन् । यसमा विकास बोर्डले कस्तो कदम चालिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईंलाई ? 
यो विज्ञप्ति अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश हो । यो एकद्वार प्रणालीमा आउनुपर्छ । त्यसका लागि बोर्डले काम गर्नुपर्छ । गृह मन्त्रालयमा गएर पहल गर्नुपर्छ । टिकटकवालाहरूले गलत गरे भने पुलिसले समात्ने, थुनिदिने काम गर्दा हुन्छ । समात्न सक्छ, समातिरहेको पनि छ । तर, यस किसिमको विज्ञप्ति चलचित्रकर्मीको विवेकलाई नमानेको हो । विभेद र अपमान गरेको हो । प्रहरीले अपराधीलाई तर्साउने हो, स्रष्टालाई होइन । 
 

सुझावित समाचार