बाँकेमा दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका– ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका– ९ पिपरीनिवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो । उनी निमोनियाबाट ग्रसित थिए ।
यसैगरी कोहलपुर नगरपालिका– ९ पिपरीनिवासी ३८ वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ ।
श्वास–प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको एक घन्टामै उपचारको क्रममा उनकाे मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।
योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ पुगेको छ ।