कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी सडक अलपत्र बनेको छ । सडक कालोपत्रे बनाउने जिम्मा पाएको सन्तोषी थेगिम जेभीले सडक निर्माणमा लापरवाही गर्दा सडक अलपत्र बनेको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग जोड्ने बेलौरी–कलुवापुर सडक सुधारको साटो थलिँदै गएको छ । विगतमा पूरै ग्राभेलिङ गरिएको सडकमा अहिले खाल्डाखुल्डी पर्न थालेको छ । केही वर्षअघि गरिएको बेलौरी बजार र कलुवापुर क्षेत्रको कालोपत्रेसमेत भत्किएको छ । गत वर्ष मात्रै निर्माण कम्पनीले स्थानीयको दबाबपछि निर्माण गरेको बन्साह क्षेत्रमा पनि खाल्डाखुल्डी पर्न थालेको छ ।
बेलौरी–कलुवापुर (मदन आश्रित) सडकलाई सुदूरपश्चिम प्रदेश सरकारले गौरवको योजनामा राखेको छ । तर, प्रदेश सरकारले ठेकेदारको बदमासीप्रति आँखा चिम्लँदा बदमासी बढ्दै गएको छ । निर्माण कम्पनीले (बेलौरी–कलुवापुर) सडक कालोपत्रेमा पनि घात गरेको छ । सन्तोषी थेगिम जेभीले सडक डिभिजन कार्यालयबाट १५ जेठ ०७५ मा झन्डै २८ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का पाएको थियो ।
दुई खण्डमा कालोपत्रे सम्पन्न गर्ने गरी पहिलो खण्ड ८ करोड ३ लाख र दोस्रो खण्ड १० करोड १७ लाख रुपैयाँमा ठेक्का पाएको थियो । तर, ठेक्का सम्झौता सकिएको दुई वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले कामै गरेको छैन । बेलौरी–कलुवापुर सडक संघर्ष समितिका सचिव रामचन्द्र काफ्लेले अब आफूहरू प्रतीक्षा गरेर बसिरहने पक्षमा नरहेको उनले चेतावनी दिए ।
बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले थपिएको म्यादभित्र काम सम्पन्न गर्नैपर्ने बताए । सडक स्तरोन्नतिका लागि पटक–पटक प्रदेश र संघीय सरकारलाई दबाब दिनुपरेको स्मरण गर्दै उनले अब पनि म्यादभित्र काम सम्पन्न नगरे ठेक्का नै बदर गर्नुपर्ने बताए । ‘निर्माण कम्पनीले अति नै गरिसक्यो,’ नगरप्रमुख चौधरीले भने, ‘अन्तिमपटक थपिएको म्यादभित्र काम नगरे कारबाहीका लागि स्थानीय सरकार नै अग्रसर हुन्छ ।’
पूर्वाधार कार्यालय कञ्चनपुरका प्रमुख धीरेन्द्र भट्टले हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । संघीय सरकारबाट ०७६ वैशाखमा प्रदेशमा सो सडक हस्तान्तरण भएको जनाउँदै उनले अब म्यादभित्र काम नभए कारबाही प्रक्रिया अघि बढाइने बताए । सन्तोषी थेगिम जेभीका अध्यक्ष गंगाराम सुब्बा भने विभिन्न असहजता कारण समयमा काम सम्पन्न गर्न नसकिएको बताउँछन् । ‘काम गरेअनुरूप भुक्तानी पाइएन,’ उनले भने, ‘त्यसपछि कोरोना लागिहाल्यो । त्यसले काम रोकियो । तर, अब समयमै सक्छौँ ।’