स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम स्वास्थ्य मन्त्रालयको भन्दा पनि सरकारका प्रवक्ताजस्तो रुखो रूपमा दैनिक कोरोना अपडेट गर्न टेलिभिजनमा आइरहन्छन् । उनको बोलीमा यस्तो कुटिलता देखिन्छ, मानौँ उनी सरकारले जनस्वास्थ्यका विषयमा जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न नसकेका यावत् बेइमानी छोप्न मात्र अपडेटमा उपस्थित हुने गरेका छन् । कतिपय रुखा सत्यहरू बोल्न पनि उनी हिच्किचाउँदैनन् । सरकारले कोरोना महामारीको संक्रमणमा परेकाको खोजी, परीक्षण, उपचार गर्ने दायित्व स्वयं जनतालाई सुम्पन गरेका किस्ता–किस्ताका प्रयास जानकारी दिँदा पनि उनले त्यसलाई सरकारको धोकाधडी या अनुत्तरदायी भूमिकाभन्दा बाध्यताजस्तो देखाउन एक प्रकारले सफलता हासिल गरेका छन् ।
पछिल्लोपटक उनले आमनागरिकलाई झस्काउने गरी अपिल गरेका छन्, अबदेखि सास फेर्न मुस्किल भएपछि या बेहोस भएपछि मात्र अस्पताल आउनुहोला, अस्पतालमा बेड खाली छैनन् । ठीकै हो सरकारले समयमा कुनै जोरजाम नगरेपछि उपलब्ध क्षमताले बढ्दो संक्रमणका समयमा सघन उपचार कक्ष र भेन्टिलेटर उपलब्ध हुन छाडेका छन् । केही बिरामीहरूको भेन्टिलेटर पाउन नसकेर सडकमै या घरमै इहलीला समाप्त भएको छ । त्यस्ता बिरामीका परिवारजनले आफ्नो प्रिय मान्छेले अन्तिम अवस्थामा व्यहोरेको कष्ट हेर्न बाध्य हुने, तर समयमा अस्पताल लैजान गरेको प्रयास असफल भएपछि भयानक पीडा र लज्जाबोध गरेको हुनुपर्छ । कस्तो देशमा बसिएको रहेछ भन्ने प्रकारको हीनताबोधले तिनलाई लखेटेको हुनुपर्छ । सबैभन्दा बढी हाम्रो सरकार र स्वास्थ्य सेवा प्रणालीमा रहेका कमजोरी देखेर उनीहरूले आफू नागरिक हुनुको पीडाबोध पनि गरिरहेको हुनुपर्छ । तर, यी सबैका बाबजुद प्रवक्ताले पहिले बेहोस हुनुस् अनि मात्र अस्पताल आउनुस् भनेर गरेको अपिल या दिएको आदेश सारा बेथितिभन्दा पीडादायी सुनिँदो रहेछ ।
काठमाडौंमा धान्न नसकिने गरी संक्रमण बढेको भर्खर दुई साता मात्र हुँदै छ । असारसम्म संक्रमितको संख्या भेन्टिलेटर र सघन उपचार कक्षकोभन्दा कम थियो । अहिले अवस्था बदलिएको छ । हामीलाई भइरहेका संरचनाले धान्नेभन्दा बढी चाप परेको छ ।
चैत ११ गतेबाट आरम्भ भएको लकडाउनदेखि यता साढे ६ महिना बितेका छन् । काठमाडौंमा धान्न नसकिने गरी संक्रमण बढेको भर्खर दुई साता मात्र हुँदै छ । असारसम्म संक्रमितको संख्या भेन्टिलेटर र सघन उपचार कक्षकोभन्दा कम थियो । अहिले अवस्था बदलिएको छ । हामीलाई भइरहेका संरचनाले धान्नेभन्दा बढी चाप परेको छ । वास्तवमा लकडाउन र त्यसयताको समय नै यही कमी पूरा गर्नका लागि थियो । तर, सरकार भ्रष्टाचार गर्न, जनतालाई अलमल्याउन र समय बिताउनमा व्यस्त रह्यो । संक्रमण बढ्दै गएपछि र उपचार चाहिने संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकार सम्पूर्ण रूपमा लाचार भएर हातगोडा छाड्न पुगेको छ ।
एकजना अनुभवी चिकित्सक र त्यस क्षेत्रका प्रोफेसरका रूपमा उनलाई कोरोना संक्रमणका आर्थिक, सामाजिक प्रभावसहित व्यक्तिले व्यहोर्नुपर्ने शारीरिक कठिनाइबारे पक्कै ज्ञान छ । तर, उनी मानिसलाई भनिरहेका छन्, सास फेर्न मुस्किल भए, बेहोस भए वा बेहोस हुन लागेकोजस्तो भए मात्र अस्पताल जानू । के यस्तो अवस्थामा पुगेको गम्भीर बिरामीलाई काठमाडौंमा भनेको समयमा उपचार पाउन सम्भव छ ? प्रवक्तामार्फत स्वास्थ्य मन्त्रालय र सरकारले जनतालाई यसरी हाकाहाकी आत्महत्या दुरुत्साहन गरेकोजस्तो घरमै मर्न अपिल गर्न मिल्छ ? सरकार कि हजुर नै बेहोस हुनुहुन्छ ? अन्यथा आफ्ना नागरिकको स्वास्थ्य उपचारको हक सुनिश्चित गर्न भनेर सत्तारुढ भएकाले आपत्कालीन अवस्थाअनुसार उपचारका थप व्यवस्थाका लागि काम गर्नुको साटो यस्तो अपिल गर्न मिल्छ ? कुनै सेल्फ आइसोलेसनमा बसेको संक्रमित बेहोस भइहाल्यो भनेचाहिँ उसलाई कसले, कसरी अस्पताल पुर्याउने र बचाउने हो ?