२२ सम्पादकले भने– सरकारले डा. केसीसँग उच्च तहबाट अविलम्ब वार्ता थाल्नुपर्छ

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

विभिन्न सञ्चारमाध्यममा कार्यरत २२ जना सम्पादकले अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता थाल्न आग्रह गरेका छन् । बुधबार एक संयुक्त वक्तव्य जारी गर्दै सम्पादकहरूले तत्काल सार्थक वार्ता सुरु गर्न आग्रह गरेका हुन् । वक्तव्यमा छ, ‘अभिभावकीय जिम्मेवारी लिँदै सरकारले डा. केसीसँग उच्च तहबाट अविलम्ब वार्ता थाल्नुपर्छ ।’

उनीहरूले सरकारले वार्ता टोली बनाउनु सकारात्मक भएको उल्लेख गर्दै निर्णायक म्यान्डेटसहित सार्थक अग्रसरता लिन आग्रह गरेका छन् । ‘हामीले यो सामूहिक वक्तव्य जारी गर्नै लाग्दा भर्खरै वार्ता टोली बनेको खबर छ । यसले निर्णायक म्यान्डेटसहित सार्थक अग्रसरता तुरुन्तै देखाउनुपर्छ । अनावश्यक ढिलाइ कसैको हितमा हुनेछैन,’ सम्पादकहरूको वक्तव्यमा छ । 

उनीहरूले राष्ट्रिय सरोकारसँग जोडिएका डा. केसीका मागबारे सरकारको ध्यानाकर्षण गराएका छन् । ‘विश्वव्याधि कोरोना भाइरस संक्रमणबाट उत्पन्न कोभिड– १९ ले हाम्रो देश पनि जेलिएका वेला डा. केसीको सत्याग्रह चलिरहेको छ,’ वक्तव्यमा छ, ‘सत्याग्रही केसीले यो १९औँ अनशनका क्रममा उठाएका मागहरू सरकारले सम्बोधन गर्न चाहेका राष्ट्रिय सरोकारसँग समेत जोडिएका छन् ।’

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, वसन्त बस्नेत, राजन पोखरेल, राजेन्द्र दाहाल, शिव गाउँले, सञ्जीव सतगैंया, सुधीर शर्मा, सुभाष घिमिरे, हरिबहादुर थापा र युवराज घिमिरे छन् ।

See More On

सुझावित समाचार