लकडाउनमा म्याद गुज्रिएका खाद्यान्न नयाँ मिति राख्दै बेच्दै

एक सातामा तीन ठूला कम्पनीमा प्रहरीको छापा, कालोबजोरी मुद्दा नलचाई, वाणिज्यमा बुझाइयो

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

उपत्यकामा ठूलो मात्रामा अखाद्य वस्तुको बिक्री भइरहेको खुलेको छ ।  लकडाउनको समयमा म्याद गुज्रिएका खाद्य सामानमा नयाँ मिति राखेर बेच्ने गिरोह सक्रिय देखिएको प्रहरीले जनाएको छ । 

एक सातामा प्रहरीले तीनवटा ठूला गोदाममा छापा हानी ठूलो मात्रामा अखाद्य सामान बरामद गरेको छ ।  मंगलबार मात्र प्रहरीले चण्डोलस्थित जोडियक मार्केटिङ कम्पनीमा छापा हानी म्याद सकिएका खाद्य सामानलाई फेरि प्याकिङ गरी बिक्री गर्ने  तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुकेश रौनियार, अर्नित मगर र जितेन्द्रकुमार लोहिया छन् ।  

उनीहरूमध्ये लोहिया सञ्चालक, रौनियार लेखापाल तथा मगर स्टोरकिपर भएको प्रहरीले जनाएको छ । उनीहरूले विदेशबाट आयात गरिएकामा सामानको म्याद सकिएपछि नेपाली नाम दिएर फेरि प्याकिङ गरी बेच्ने गरेको काठमाडौं परिसरका डिएसपी राजकुमार केसीले बताए । पास्ता, आँटा, बिस्कुट, तेल, चकलेटलगायत सामान रिप्याकिङ गरी बेच्दै आएका थिए ।  सो कम्पनीको करिब चार करोड रुपैयाँबराबरको सामान प्रहरीले बरामद गरेको छ । 

आइतबार प्रहरीले कलंकीमा चार करोड रुपैयाँबराबरको म्याद गुज्रिएका विभिन्न सामान बरामद गरेको थियो । प्रवीणकुमार बंकाले सञ्चालन गरेको एएसटी कम्पनीबाट प्रहरीले विभिन्न सामान बरामद गरेको हो । पुरानो स्टिकर मेटाई नयाँ मिति राखेर उनीहरूले सामान बेच्दै आएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराका अनुसार चकलेट, तेल, पाउडरलगायत सामानहरू नयाँ मिति राखेर बिक्री हुँदै आएको थियो ।  

पक्राउ पर्नेहरूमा भारतीय नागरिक अनिलकुमार बंका, स्मिता श्रेष्ठ, आनन्दकुमार अवस्थी, विनोद ओझा, रामकुमार खत्री र मोहन महतो छन् । पक्राउ पर्नेहरू बन्काबाहेक अरू कामदार हुन् । उनीहरूको दुईवटा गाडी पनि प्रहरीले बरामद गरेको छ ।   

गत १४ असोजमा प्रहरीले आयान डिष्ट्रिब्युटर र अमेजन डिष्ट्रिब्युटरका सञ्चालकलाई पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाले चलखेल, बिस्कुट तथा विभिन्न खाद्य सामानमा नयाँ मिति राखेर बिक्री गर्ने सातजनालाई पक्राउ गरेको थियो । 

झापाकी पुष्पादेवी अग्रवाल, भारतीय नागरिक रोनक बोथ्रा, रौतहटका मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, महोत्तरीका श्यामकुमार सिंह, धादिङका रामबहादुर बयलकोटी, सीताराम उपरकोटी र दिलीप थापामगरलाई पक्राउ गरेको हो । 

लकडाउनको समयमा सामानको म्याद गुज्रिएपछि नयाँ नक्कली लेबलिङ गरेर बिक्री गर्ने प्रवृत्ति देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली बताउँछन् । उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाडको काम भएकाले प्रहरीले यस्ता गोदाममा निगरानी बढाएको उनको भनाइ छ । 

किन चलेन कालोबजारी मुद्दा ? 
पक्राउ परेका तीनैवटा कम्पनीका सञ्चालक तथा कर्मचारीलाई  प्रहरीले कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पठाएको छ । विभागले १४ असोजमा पक्राउ परेकालाई तारेखमा छाडिसकेको छ भने १८ असोजमा पक्राउ परेकालाई भने थुनामै राखेको छ । चण्डोलमा मंगलबार पक्राउ परेका पनि छुटेका छन् । 

रिलेबलिङ गरिएको विषय उपभोक्ता हित संरक्षण ऐनले विभागलाई दिएकाले उतै पठाइएको एसएसपी ज्ञवाली बताउँछन् । प्रहरी स्रोत भने कालोबजारी मुद्दा चलाउँदा लामो समय थुनामा बस्नुपर्ने भएकाले व्यापारीकै दबाबमा विभागमा पठाउने दबाब आउने गरेको स्रोत बताउँछ । उपभोक्ता हित संरक्षण ऐनभन्दा कालोबजारी मुद्दामा कडा सजाय हुने भएपछि कम सजाय हुने अभियोगमा उनीहरूमाथि कारबाही भइरहेको छ ।

सुझावित समाचार