ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबल पुरस्कार प्रदान गरिने भएको छ । मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई सन् २०२० को भौतिकशास्त्रतर्फको नोबल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
बेलायतमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए । गेन्जेल र गेजले आकाशगंगाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोजेका थिए ।
ब्रह्मान्डबारे गरिएका अनुसन्धानका लागि गत वर्ष पनि तीन वैज्ञानिकले संयुक्त रूपमा भौतिकशास्त्रतर्फको पुरस्कार पाएका थिए । जेम्स पिबल्सलाई ब्रह्मान्डको क्रमविकास तथा मिसल मेयर र डिडिएर क्वेलोजलाई सूर्यजस्तो एउटा तारानजिक भएको ग्रह पत्ता लगाएकाले सो पुरस्कार दिइएको थियो ।