नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) की नवनियुक्त प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन् । जर्मन नागरिक वर्मा नेपालमा युएनएचसिआर प्रतिनिधिको रूपमा कार्यभार सम्हाल्न ३० भदौमा आएकी थिइन् । सेल्फ क्वारेन्टिन अवधि पार गरेर उनले प्रमाणपत्र बुझाएसँगै कार्यभार सम्हालेकी हुन् ।
कार्यभार सम्हालेपछि वर्माले भनेकी छिन्, ‘उत्पीडनबाट बच्नका लागि भाग्न बाध्य भएका व्यक्तिलाई आफ्नै संसाधनहरूको चुनौतीका बीच पनि नेपालले देखाएको उदारतालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छ । यस विषयमा म नेपाल सरकार र युएनएचसिआरका अन्य साझेदारहरूसँग मिलेर सहकार्य, कानुन र अनुकम्पाको मर्मलाई सुदृढ बनाउँदै अगाडि बढ्ने आशा गर्दछु ।’
वर्माले युएनएचसिआरमा २५ वर्षदेखि काम गर्दै आएकी छिन् । उनले विभिन्न अन्तर्राष्ट्रिय संरक्षण र कानुनसम्बन्धी पदहरूमा रही मोरक्को, मलेसिया, इन्डोनेसिया, उत्तरी म्यासेडोनिया, बुल्गेरिया, र युएनएचसिआरको मुख्यालयमा अन्तर्राष्ट्रिय संरक्षण विभागका साथै एसिया र अफ्रिकाका क्षेत्रीय कार्यालयमा कामको अनुभव हासिल गरेको युएनएचसिआरले विज्ञप्तिमा जनाएको छ ।
उनले अन्तर्राष्ट्रिय शरणार्थी संरक्षण तथा पुनर्वास, एकीकरण, स्वैच्छिक स्वदेश फिर्ती, शरणार्थी हैसियत निर्धारण, अन्तर्राष्ट्रिय मानवीय कानुन, गैरसैनिक नागरिकहरूको संरक्षण, बाल संरक्षण, लैंगिक सवालहरू, लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको समावेशिता, क्षमता विकास, शरणार्थीसम्बन्धी कानुनी प्रशिक्षण र कर्मचारी कल्याणका क्षेत्रमा पनि काम गरेकी छिन् ।
वर्माले यसअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा आफ्नो विशेषज्ञताका साथ काम गरेकी थिइन् । त्यसअघि उनले जर्मनीको ह्याम्बर्ग, लेबेक र श्वेरिनको अदालतहरूमा कानुनी अभ्यास गरेकी थिइन् ।