विश्वमा हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन चिकित्साशास्त्रका वैज्ञानिकलाई यस वर्षको नोबल पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार पाउनेमा दुई अमेरिकन तथा एक बेलायतका चिकित्सक छन् । बेलायतका माइकल हटन, अमेरिकाका हार्भी अल्टर र चार्ल्स राइसले लामो समयदेखि हेपाटाइटिस सीको भाइरस पत्ता लगाउन अनुसन्धान गर्दै आइरहेका छन् ।
तीन वैज्ञानिकहरूको आविष्कारले संसारमा लाखौँ व्यक्तिको ज्यान रक्षा गर्न मद्दत पुर्याएको नोबल पुरस्कार कमिटीले जनाएको छ । ‘तीन वैज्ञानिकको आविष्कारले विश्वमा लाखौँ व्यक्तिको ज्यान रक्षा गर्यो, सोही अनुसन्धानका लागि उनीहरूलाई यस वर्षको चिकित्साशास्त्रअन्तर्गतको नोबल पुरस्कार प्रदान गर्न लागेको हो,’ नोबल कमिटीले भनेको छ ।
विशेषतः लिभर क्यान्सर हुने व्यक्ति हेपाटाइटिसको सीका रोगी हुन्छन् । सन् १९६० मा असंख्य व्यक्तिले रक्तदान गरेका थिए । रक्तदानबाट संकलन गरिएको रगतको कीटाणुमा हेपाटाइटिस रोगको भाइरस देखापरेको थियो । यसवेला यो रोग अज्ञात नै थियो । नोबल पुरस्कार कमिटीले विश्वमा पहिलोपटक रोग निवारण गर्न सकेको जनाएको छ । ‘हेपाटाइटिस सी भाइरस पत्ता लागेपछि विश्वमा यो रोग निर्मूल पार्न मद्दत मिलेको छ,’ कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एक अध्ययनका अनुसार हेपाटाइटिसबाट विश्वमा सात करोड व्यक्ति प्रभावित छन् । यो रोगबाट प्रत्येक वर्ष औसत चार लाख व्यक्तिले ज्यान गुमाउने गरेका छन् । सन् १९६० मा हेपाटाइटिस ए र बी भाइरस पत्ता लागेको थियो । अमेरिकन वैज्ञानिक तथा प्रोफेसर अल्टरले अमेरिकाको राष्ट्रिय स्वास्थ अनुसन्धानमा अनुसन्धान जारी नै राखे ।
प्रोफेसर अल्टरले आखिरमा किन यस्तो भइरहेको छ भन्ने विषयमा अनुसन्धान जारी राखेका हुन् । सुरुवातमा यसलाई अज्ञात रोग मानिएको थियो । तत्कालको अनुसन्धानले ए वा बी हेपाटाइटिस रोग हुन सक्ने जनाइयो । तर, पछि यो दुवै नभएको निष्कर्ष निकालिएको थियो । सन् १९८९ मा अर्का प्रोफेसर माइकलले आफ्नो अनुसन्धानमा नयाँ भाइरस पत्ता लगाएको जानकारी दिए । अनुसन्धानमा रहेका तीनजना वैज्ञानिकले यसको नाम हेपाटाइटिस सी राखेका थिए ।