१३ हजार नमुना परीक्षण गर्दा २४ सय ४० मा कोरोना

मंगलबार, १९ असोज, २०७७
डिजिटल संस्करण

१९ जनाको मृत्यु, काठमाडौं उपत्यकामा १५३१ नयाँ संक्रमित

सरकारले परीक्षण नबढाए पनि कोरोना भाइरस संक्रमितको संख्या भने दिनदिनै बढ्दै गएको छ । सोमबार थप दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार सात सय ९१ वटा नमुना परीक्षण गर्दा दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये झन्डै १८ प्रतिशतमा कोरोना संक्रमण देखिन थालेको छ । लगातार चौथो दिन दुई हजारभन्दा बढी संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या ८९ हजार दुई सय ६३ पुगेको छ ।

सोमबार एक हजार एक सय ३३ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि ६५ हजार दुई सय दुई पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या २३ हजार पाँच सय सात पुगेको छ । सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ११ हजार एक सय ९१ जना र होम आइसोलेसनमा १२ हजार तीन सय १६ जना रहेका छन् । संक्रमितमध्ये दुई सय ४४ जना आइसियू र ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । सोमबार एक हजार पाँच सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा देखिएका संक्रमितमध्ये काठमाडौंमा एक हजार एक सय ७८, ललितपुरमा दुई सय ५० र भक्तपुरमा एक सय तीनजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट १९ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १९ जनाले ज्यान गुमाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । उनीहरूमध्ये १२ जनाको काठमाडौंमै मृत्यु भएको हो । 
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा काठमाडौंका नौ, ललितपुरका तीन, सर्लाहीका दुई पुरुष, सुनसरी, चितवन, नवलपरासी पूर्व, पर्सा र गोरखाका एक–एकजना रहेका छन् । 

See More On

सुझावित समाचार