गत वर्षको चैत ७ बाट देशव्यापी रूपमा बन्द भएको पार्टी प्यालेस र क्याटरिङ व्यवसाय हालसम्म पनि खुल्न सकेका छैनन् । कोरोना भाइरस संक्रमणको जोखिम दिनप्रतिदिन बढिरहँदा पार्टी प्यालेस र क्याटरिङ कहिले सञ्चालनमा आउने भन्ने कुनै टुंगो छैन । विभिन्न विवाह व्रतबन्ध, उत्सवहरूमा भिड लाग्ने पार्टी प्यालेस करिब सात महिनादेखि सुनसान बनेका छन् ।
सरकारले करिब ६ महिनाको लकडाउनपश्चात् लकडाउनलाई खुकुलो बनाउँदै आएको छ । लामो र छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् भने सपिङ सेन्टर, सुपरमार्केटहरू पनि खुल्न थालेका छन् । तर, सरकारले पार्टी प्यालेस र क्याटरिङहरूलाई सञ्चालनको अनुमति अझै दिएको छैन ।
कोरोना भाइरस संक्रमणको दर बढिरहेकाले कुन मितिमा खोल्ने भन्ने विषयमा अन्योल छाएपछि करोडौँ रुपैयाँ खर्च गरेर सञ्चालनमा आएका पार्टी प्यालेस चरम संकट व्यहोर्न बाध्य भएका छन् । अझै यसको संकट कतिसम्म रहन्छ भन्ने कुनै टुंगो नहुँदा यस क्षेत्रमा लगानी गर्नेहरू चिन्तित हुन थालेका छन् । अझ बैंकको लोन र जग्गा भाडामा लिएर सञ्चालन आएका यस्ता पार्टी प्यालेस बन्द गर्ने मनसायमा पुगेका छन् ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको अनुसार गत वर्षको तथ्यांकअनुसार करिब सात हजारभन्दा बढी संघमा आबद्ध पार्टी प्यालेस र क्याटरिङ रहेका छन् ।
कोरोना भाइरसबाट सिर्जित समस्या कारण अहिले पार्टी प्यालेस र क्याटरिङ बन्द हुने अवस्थामा पुगेको पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लीलाबहादुर जिसीले जानकारी दिए ।
जिसीका अनुसार चैतदेखि असारसम्ममा करिब २० वटाभन्दा बढी पार्टी प्यालेस र क्याटरिङ बन्द हुने पुगेका छन् ।
सरकारले यसलाई खोल्ने वातावरण बनाउन नसके पार्टी प्यालेस तथा क्याटरिङले ठूलो मूल्य चुकाउनुपर्ने उनको भनाइ छ ।
६० हजारभन्दा बढीले गुमाए रोजगारी
लामो समयसम्म पार्टी प्यालेस तथा क्याटरिङ बन्द हुँदा यस क्षेत्रमा काम गर्ने करिब ६० हजारभन्दा बढीले रोजगारी गुमाउनका लागि बाध्य भएका छन् । कोरोना कहर नहुँदाको अवस्था र सिजनको समयमा करिब ८० हजारले पार्टी प्लालेस क्याटरिङको क्षेत्रबाट रोजगारी पाउँदै आएका थिए ।
तर, संकटका कारण पार्टी प्यालेसहरूले सुरक्षा र एक–दुईजना सरसफाइबाहेक सबैलाई कामबाट विस्थापित गर्न बाध्य भएको संघका अध्यक्ष जिसीले बताए । ‘लामो समयसम्म बन्द भयो कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था नै रहेन भएकै पार्टी प्यालेस नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ जिसीले नयाँ पत्रिकासँग भने । जिसीका अनुसार हाल पार्टी प्यालेसमा ६ सय मात्र कर्मचारी रहेका छन् ।
सिसिएमसीमा मापदण्डसहितका पत्र
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले कोरोना रोकथाम उच्चस्तरीय समितिमा (सिसिएमसी) पार्टी प्यालेस तथा क्याटरिङ सञ्चालन गर्ने वातावरण बनाइदिनका लागि मापदण्डसहितको पत्र पठाएका छन् ।
व्यवसायहरूले पार्टी प्यालेसको क्षमताको ३० प्रतिशत मात्र मान्छे राख्ने, सहभागी व्यक्तिको नाम, ठेगाना र फोन नम्बर राख्ने, दूरी कायम राख्ने गरी सम्पूर्ण व्यवस्था मिलाउने, कुर्सी, टेबल र हलहरूलाई स्यानिटाइज गर्नेजस्ता मापदण्ड बनाएर उक्त समितिमा बुझाएको अध्यक्ष जिसीले बताए ।
‘हामीले मापदण्डसहित पत्र बुझाएका छौँ, सिसिएमसीबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ । मन्त्रिपरिषद् बैठकमा नियन्त्रण गरेर मात्र जानकारी आउनेछ,’ उनले भने ।
व्यवसायीहरूले असोज ११ मा उक्त पत्र सिसिएमसीलाई बुझाएका थिए । पार्टी प्यालेसहरूको मुख्य कमाउने सिजन भनेको वैशाख, जेठ र असार विवाहको महिना हाे । त्यस समयमा लकडाउन हुँदा ठूलो घाटा व्यहाेर्न बाध्य भएका थिए । फेरि पनि सिजन सुरु भएकाले पार्टी प्यालेस र क्याटरिङहरू सञ्चालनमा ल्याउन व्यवसायीहरू लागिपरेका छन् ।