यी दुई चित्रमा नेपाली समाज

सोमबार, १८ असोज, २०७७
डिजिटल संस्करण

हुम्लाको एउटा समाचार छ । एकजना २३ वर्षीया महिलालाई परपुरुषसँग प्रेम सम्बन्धमा रहेको आरोप लगाइयो । चार वर्ष र दुई वर्षका सन्तानकी आमा रहेकी उनलाई उनकै पतिसमेत गाउँलेले सामूहिक रूपमा कुटपिट गरेर यातना दिए, दिसा खुवाए र कपाल मुण्डन गरिदिए । उनका सन्तान रोइरहँदा र आफूमाथि ज्यादती भइरहँदा पनि उनले कुनै हारगुहार पाइनन् । उनीसँग प्रेम गर्ने भनिएको पुरुषलाई भने कसैले खोजेन, न त ऊ यी महिलाको बचाउमा नै आयो ।

यातनाबाट फुत्केर उनले जिल्ला प्रहरीमा पुगेर उजुरी दिएपछि उनलाई यातना दिनेमध्येका आठजना पक्राउ परेका छन् । तर, यो पक्राउपछि पनि ती महिलाले न्याय पाउलिन् र समाजमा स्थापित हुन सक्लिन् भन्ने आशा गर्न झन्डै असम्भवजस्तो छ । यो घटना हुम्लाको एउटा गाउँमा भएको हो । यो घटनामा को–को, कस्तो सामाजिक आर्थिक तथा राजनीतिक हैसियतका मानिस संलग्न थिए भन्ने खुलेको छैन । तर, यसमा समाजको पुरुषप्रधान संस्कृतिको प्रतिनिधित्व गर्ने सबै सामेल थिए भन्ने देखिन्छ, जसले महिलाको शरीर र सामाजिकतासमेत पुरुषको नियन्त्रणमा रहने कुनै वस्तु या जिनिसका रूपमा बुझेको छ । यौन र प्रेमका कुरा पतिको अधीनस्थ बनाएको छ । 

यता प्रदेश ५ को सरकारले प्रदेशको नाम लुम्बिनी राख्ने र प्रदेश राजधानी भालुवाङलाई बनाउने प्रस्ताव प्रदेश सभासमक्ष राख्यो । यो प्रस्ताव हो र प्रदेश सभाले पारित गर्न बाँकी छ । यस्तो प्रस्ताव दर्ता भएको छिनभरमै बुटवलमा एउटा राजनीतिक दल समर्थक कार्यकर्ताको सानो जत्थाले प्रदर्शन सुरु गर्यो । प्रदर्शनस्थलको बाटो भएर घरतिर जान लागेकी तिलोत्तमा नगरपालिकाकी शिक्षाअधिकृत रहेकी एकजना कामकाजी महिलाको स्कुटर त्यही जत्थाले खोस्यो र बलिरहेको टायरमा हालेर जलाइदियो ।

उनले स्कुटरमा रहेका आफ्नो छोराका लागि सिलाएर ल्याएका कपडा, मोबाइल र अरू अत्यावश्यक सामान निकाल्न दिन अनुरोध गरिन्, तर कसैले सुनेन । घटनामा रमिता हेरिरहेका मानिसले ती महिलालाई फोन दिन र घटनाका बारेमा अरूलाई सूचना दिन सहयोग गर्नसमेत अस्वीकार गरे । उनलाई सडकमा दिउँसै अपमान र हिंसा गरियो । यो घटनामा संलग्न व्यक्तिहरू नेपाली कांग्रेसको जिल्लास्तरका नेता–कार्यकर्ता हुन् । ती सबै सहरका बासिन्दा हुन् । 

बुटबल र हुम्लामा भएका घटनाबीच हाम्रो समाजका अनेक तन्तुको कहीँ न कहीँ सम्बन्ध छ । शक्ति सम्बन्धका दृष्टिले । समाजको चेतनाका दृष्टिले । यी सबै बल हुनेले मिच्ने, थिच्ने सामाजिक मनोविज्ञानकै कारण भइरहेका छन् र यसको मारमा पर्ने गरेका छन्– महिला तथा दलित । 

पार्टीका नेता भएपछि उनीहरू समाजको एउटा वर्ग र विचारधाराको समेत अगुवाइ गरिरहेका हुन्छन् । तिनले कमसेकम नेपाली कांग्रेसको नीति कार्यान्वयन गर्ने क्रममा विद्यालयको नेतृत्व गर्छन्, वडा, नगर र जिल्लास्तरका विभिन्न सामाजिक राजनीतिक संघसंस्थाको नेतृत्व गर्छन् । नीति बनाउँछन्, कार्यान्वयन गर्छन् ।

उनीहरूकै दाबीअनुसार उनीहरू जन्मजात लोकतन्त्रवादी र समाजवादी हुन् । यस्तो कार्यक्रममा अवश्य पनि कोही महिला सामेल भएको हुनुपर्छ, जो राजनीतिक रूपले सचेत छिन् । हुम्लाको घटनामा समाजका अगुवा थिएनन् र त्यस्तो गरे भन्ने हो भने समाजमा जसले अगुवाइ गर्नुपर्ने हो, जसले यसको दाबी गरिरहेका छन्, जो समानता र न्यायको कुरा गरिरहेका छन्, उनीहरूले गर्ने व्यवहारमा अवश्य पनि एउटा सभ्य समाजको बिम्ब देखिनुपर्छ । 

बुटवलमा भएको घटनामा नेपाली कांग्रेस संलग्न देखिए पनि देशभर हुने यस्ता अनेकन् घटनामा सबै मुख्य दलका नेता–कार्यकर्ता कतै न कतै सामेल हुने गरेका छन् । बुटबल र हुम्लामा भएका घटनाबीच हाम्रो समाजका अनेक तन्तुको कहीँ न कहीँ सम्बन्ध छ । शक्ति सम्बन्धका दृष्टिले । समाजको चेतनाका दृष्टिले । यी सबै बल हुनेले मिच्ने, थिच्ने सामाजिक मनोविज्ञानकै कारण भइरहेका छन् र यसको मारमा पर्ने गरेका छन्– महिला तथा दलित ।

यसबाट समाजलाई मुक्त पार्ने सामाजिक रूपान्तरणको अगुवाइ गर्नुपर्ने हो, राजनीतिक दलहरूले । तर, हामीकहाँ यसको परीक्षणमा सबै दल बारम्बार असफल भएका छन् । कानुन र न्याय पनि बारम्बार पीडकमुखी देखिने फैसला भएका छन् । कानुन र संविधानले समाजलाई तथा समाजले कानुन र संविधानलाई निरन्तर प्रतिशील बनाउनुपर्नेमा हामीकहाँ अझै त्यसले सकारात्मक दिशा लिएको देखिएन । 

सुझावित समाचार