ट्रम्पको स्वास्थ्य अवस्थाबारे डाक्टरहरूकै फरक–फरक धारणा

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यप्रति फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । उनी उपचाररत मेरिल्यान्डस्थित नेसनल सैनिक अस्पताल शनिबार तीन फरक–फरक धारणाका सूचना बाहिरिएका थिए । यी तीनवटै सूचनामा ट्रम्पको स्वास्थ्य अवस्था फरक–फरक उल्लेख छ । 

ट्रम्प स्वयंले भने भिडियोमार्फत आप्mनो स्वास्थ्य अवस्था निकै राम्रो भएको जानकारी दिएका छन् । ह्वाइटहाउसका चिफ अफ स्टाफ मार्क मेडोसले राष्ट्रपति ट्रम्पमा देखिएको लक्षण समस्या बढाउने किसिमको बताएका छन् । यसैगरी ट्रम्पका पर्सनल फिजिसियन डा. सिन कार्नलले राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको जनाए । राष्ट्रपति ट्रम्पको उपचार अस्पतालमा भइरहे पनि उनकी श्रीमती मेलानिया ह्वाइटहाउसमै सेल्फ क्वारेन्टिनमा छिन् ।

अस्पतालबाटै शनिबार ट्रम्पले सार्वजनिक गरेको छोटो भिडियो कन्फ्रेन्समा विगतमा भन्दा स्वास्थ्य राम्रो भएको बताए । ‘अहिले म आपूmलाई राम्रो पाइरहेको छु,’ ट्रम्पले भने, ‘हेरौँ एक वा दुई दिनभित्र स्वास्थ्य अवस्था कस्तो हुन्छ ।’ भिडियो कन्फ्रेन्समा ट्रम्प विनामास्क देखिएका थिए । उनी अस्पतालमा भर्ना हुन आउँदा निलो रंगको मास्क लगाएका थिए । उनी विनामास्क निलो सुटमा थिए । तर, टाई भने लगाएका थिएनन् ।

ट्रम्पले अस्पतालबाट फर्केपछि चुनावी अभियानमै अग्रसर हुने बताएका छन् । ‘केही दिनपछि मेरो स्वास्थ्य पुरानै जस्तो हुन्छ, त्यसपछि म चुनावमै लाग्नेछु,’ उनले भने, ‘मेरो महान् अमेरिका देशमा अझै धेरै काम गर्न बाँकी छ ।’ 

‘ट्रम्पको स्वास्थ्य अवस्था गम्भीर’
यता चिफ अफ स्टाफ मार्क मेडोसले ट्रम्पको स्वास्थ्यसम्बन्धी पूरा जानकारी दुई दिनपछि मात्रै आउने बताएका छन् । मेडोस भन्छन्, ‘राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था गम्भीर नै छ, कोरोना रिकभरीबारेमा अहिले केही पनि भन्न सकिने अवस्था छैन ।’ चिफ अफ स्टाफको यस भनाइले धेरैलाई राष्ट्रपतिको स्वास्थ्यप्रति शंका गर्न बाध्य बनाएको छ । 

चिकित्सक र ट्रम्प आफैँले पनि स्वास्थ्य राम्रो भएको जानकारी दिएका छन् । चिफ अफ स्टाफ मेडोसले फरक भनाइ राखे । राष्ट्रपतिको वास्तविक स्वास्थ्य लुकाएको भन्ने शंका गरेको छ । आफ्नै कार्यालयका जिम्मेवार व्यक्तिको भनाइप्रति चित्त नबुझेका कारण ट्रम्पले भिडियो सार्वजनिक गरेको भनिएको छ ।

ट्रम्पले भिडियोमा भनेका छन्, ‘म यो रोगलाई हराउन सक्छु ।’ ट्रम्पले पुनः एकपटक अस्पतालमा आउँदा सन्चो नभएको बताए । उनी भन्छन्, ‘म अस्पताल आउँदा त्यति स्वास्थ्य राम्रो थिएन, अहिले सुधार पाएको छु, मेरो विचारमा आउने केही दिन वास्तविक परीक्षण हुनेछ ।’ 

ट्रम्प शुक्रबार अस्पताल आउँदा उनलाई हल्का ज्वरो आएको र सास लिन गाह्रो भएको थियो । अक्सिजन लेभल निकै कम भएको थियो । तर, अस्पतालमा उनलाई अक्सिजन चढाइएको थिएन । राष्ट्रपति ट्रम्प अस्पतालमा छन् । तर, उनी आबद्ध पार्टी रिपब्लिकनले चुनावी अभियान जारी राख्ने भएको छ ।

चुनाव आउन केवल एक महिना समय पनि नरहेको कारण चुनावी गतिविधि निरन्तर हुनुपर्ने जनाइएको छ । राष्ट्रपति ह्वाइटहाउस नफर्किंदासम्म रिपब्लिकनले विभिन्न सहरमा आफ्नो यात्रा गर्नेछ । उपराष्ट्रपति माइक पेन्सी तथा स्पिकर नेसी पेलोसीले फरक–फरक राज्यमा चुनावी अभियान अगाडि बढाउनेछन् । ट्रम्पले आफू निको नभएसम्म विभिन्न राज्यमा भिडियो सन्देश पठाउनेछन् । 

ट्रम्पले चुनावी क्याम्पेनिङमा फर्कन इच्छा भएको बताएका छन् । ‘म फर्कनेछु, त्यो पनि धेरै छिटो, यो वेला चुनावको सबै कार्यक्रम समाप्त पार्नु छ, जुन सुरु भइसकेको छ,’ उनले भने, ‘हामी सबै मिलेर कोरोना भाइरसलाई परास्त गर्छौँ ।’

सुझावित समाचार