कञ्चनपुरकी संक्रमित सुत्केरी महिलाको काेहलपुरमा निधन

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

कञ्चनपुरको पुनर्वास नगरपालिका निवासी सुत्केरी महिलाको काेराेनाका कारण निधन भएको छ । जुम्ल्याए बच्चा जन्माएकी सुत्केरी महिलाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा निधन भएको अस्पतालले जनाएको छ । 

उनलाई उपचारका लागि गत मंगलबार अस्पताल भर्ना गरिएको थियाे । अस्पतालका अनुसार सोही दिन उनलाई संक्रमण देखिएको थियो ।

गर्भाअवस्थामै रक्तश्राव, सुत्केरी भएपछि उच्च रक्तश्राव र कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । आज उनको निधन भएको पुनर्वास नगरपालिका-२ का वडाध्यक्ष सन्तकुमार चौधरीले बताए । 

उनले सेती प्रादेशिक अस्पतालमा गत मंगलबार जुम्ल्याए बच्चा जन्माएकी थिइन् । उच्च रक्तश्रावका कारण थपउपचारका लागि उनलाई कोहलपुर लगिएको थियो । 

वडाध्यक्ष चौधरीका अनुसार बच्चाहरुको अवस्थामा समान्य छ । योसँगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । भीमदत्त नगरपालिका-९ मटैनाका एक पुरुषको गत महिना मृत्यु भएको थियो । 

यता महाकाली अस्पतालमा उपचाररत एक बिरामीमा संक्रमण देखिएपछि अस्पताल प्रशासनले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । 

सुझावित समाचार