गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा संक्रमितको संख्या चार हजार ५९ र ज्यान गुमाउनेको संख्या ३४ पुग्याे 

गण्डकी प्रदेशमा थप ४३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा नवलपुरका मात्रै २६ जना छन् । जसमध्ये नवपुरको देवचुलीका पाँचजना, गैँडाकोटका १५, विनय त्रिवेणीका दुईजना र कावासोतीका पाँचजना संक्रमित भएका छन् । 

तनहुँमा नौजना संक्रमित भएका छन् । तनहुँका संक्रमितमध्ये देवघाट र व्यासका दुई–दुईजना र शुक्लागण्डकीका पाँचजना छन् । शुक्लागण्डकीका सबैजना जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत चिकित्सक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी हुन् ।

लमजुङमा पाँचजना संक्रमित भएका छन् । लमजुङको सुन्दरबजारका तीनजना, राइनास र दोर्दीका एक–एकजना छन् । 

गोरखाको गोरखा नगरपालिका, स्याङ्जाको कालिगण्डकी, बाग्लुङको काठेखोलाका एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आइतबार संक्रमित हुनेसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या चार हजार ५९ पुगेको छ । 

यता गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण थप एकजनाको ज्यान गुमेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार भरतपुर अस्पतालको कोभिड आइसियूमा उपाचाररत विनय त्रिवेणी गाउँपालिका, दुम्कीबासका ३६ वर्षीय पुरुषको शनिबार दिउँसो ज्यान गुमेको हो ।

अस्पतालका अनुसार उनले लामो समयदेखि मुटु र कलेजको उपचार गराइरहेका थिए । योसँगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । 
 

See More On

सुझावित समाचार