उपत्यकामा १,६३८ लाई कोरोना
पिसिआर परीक्षणको संख्या बढाएसँगै कोरोना भाइरस संक्रमितको संख्या पनि बढेको छ । शुक्रबार देशभर १४ हजार सात सय ३९ वटा नमुना परीक्षण गर्दा दुई हजार सात सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दैनिक परीक्षणमा देखिएको अहिलेसम्मकै सर्वाधिक संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारसम्म दैनिक १० हजारको हाराहारीमा नमुना परीक्षण गरिरहेको थियो । पछिल्लो २४ घन्टामा परीक्षण दर बढाएसँगै संक्रमितको संख्या पनि एकाएक बढेको हो । पछिल्लो २४ घन्टामा दुई हजार सात सय २२ जनामा संक्रमण पुष्टि भएको र कोरोनाबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै मृत्युको संख्या पनि पाँच सय २० पुगेको छ ।
पछिल्लो २४ घन्टामा पुष्टि भएका संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा एक हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा देखिएका संक्रमितमध्ये काठमाडौंमा एक हजार दुई सय ८०, ललितपुरमा एक सय ६२ र भक्तपुरमा एक सय ९६ जना छन् ।
शुक्रबार थपिएकासँगै उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार सात हजार ४१ पुगेको छ । जसमध्ये काठमाडौंमा २१ हजार ६ सय ७३, ललितपुरमा दुई हजार ६ सय ८७ र भक्तपुरमा दुई हजार तीन सय ८१ संक्रमित छन् ।