पूर्वराष्ट्रपति डा. रामवरण यादवले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेट गरी स्वास्थ्य अवस्था बुझेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।
डा. केसीलाई भेटेपछि पत्रकारसँग कुरा गर्दै पूर्वराष्ट्रपति डा. यादवले चिकित्सा शिक्षा सुधारका लागि जायज माग राखी सत्याग्रह गरेका डा. केसीले जनताको माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गरे ।
डा. केसीले राख्दै आएका माग पूरा हुने चरणमा रहेको सरकारले बताइसकेको अवस्थामा तत्काल वार्ताको वातावरण निर्माण गरी समस्या समाधान गर्न उनले आग्रहसमेत गरे ।
आफ्नो ज्यानको पर्वाह नगरी सत्याग्रहमार्फत जनताको मागलाई उठाउँदै आएकाले डा. केसी राष्ट्रको सम्पत्तिको रूपमा रहेको टिप्पणीसमेत पूर्वराष्ट्रपति डा. यादवले गरे ।
राष्ट्रकै अमूल्य सम्पत्तिको रूपमा रहेका डा. केसीको ज्यान बचाउन पनि छिटोभन्दा छिटो वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।
डा. केसीको यो १९औँ सत्याग्रह हो । विभिन्न माग राखी १९ दिन अघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गरेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा रहेका छन् ।
चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखी डा. केसी अनशनमा बसेका हुन् । तर, सरकारले १९ दिन बित्दासमेत समस्या समाधानका लागि अहिलेसम्म कुनै पहल गरेको छैन ।