कोरोना संक्रमण नियन्त्रण गर्न हुम्लाका व्यवसायीले सिमकोट बजार क्षेत्र बन्द गरेका छन् । हिल्दुम साना जलविद्युत् आयोजनाका दुई कर्मचारी र सर्केगाड गाउँपालिका– ५ की २१ वर्षीयालाई कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्र बन्द गरिएको हो ।
असोज ३ मा नेपालगन्जबाट आएका ३५ र ३९ वर्षका दुई पुरुषमा कोराना संक्रमण देखिएपछि हुम्ला उद्योग वाणिज्य संघको अगुवाइमा सिमकोट बजार तथा व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बुधबार बसेको सर्वपक्षीय बैठकले होटेल, पसल र अन्य व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण फैलिए नियन्त्रण गर्ने गाह्रो हुने निष्कर्षसहित जोखिम नघट्दासम्मका लागि बजार बन्द गर्ने निर्णय भएको हुम्ला उद्योग वाणिज्य संघले जनाएको छ । बिहीबार बिहानदेखि सदरमुकाम सिमकोटका सम्पूर्ण होटेल, पसल र अन्य व्यवसाय बन्द छन्।
नेपालगन्जबाट हुम्ला आएकी संक्रमित किशोरीसँग एकैजहाजमा सिमकोट आएका हिल्दुम तथा साना जलविद्युतका दुईजना कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएपछि सिमकोट बजार आवतजावतमा कडाइ गरेकाे थियाे ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले स्थानीयवासीलाई सजग र सुरक्षित तरिकाले घरमै बस्न आग्रह गरेका छन् ।